☰ open Loading... 16 May 2024|  

राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?
पश्चिम नेपाल   | १७ बैशाख २०८१, सोमबार १६:२०

१६ वर्षअघि सुर्खेतमा हत्या गरिएका कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न मध्ये थप एक जना पक्राउ परेका छन्।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको यो हत्या घटनाका मुख्य अभियुक्त भनिएका ‘टाइगर’ भनिने पदमबहादुर रावतको बयानका आधारमा प्रहरीले काठमाडौंबाट दैलेखको महाबु गाउँपालिका-४ का मेयरमान सिंहलाई पक्राउ गरेर सुर्खेत ल्याएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले काठमाडौंबाट एक जनालाई पक्राउ गरेर ल्याइएको बताए। ‘भारतबाट पक्राउ गरेर ल्याएका रावतको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘घटनामा संलग्न अरूको पनि हामी खोजी गरिरहेका छौ।’

कालिकोटका १७ वर्षीय राजबहादुरको २०६५ फागुन २६ गते बेलुका सुर्खेत बसपार्कमा हत्या गरिएको थियो। हत्या घटनाका मुख्य अभियुक्त कालिकोटको महावै गाउँपालिकाका रावतलाई अघिल्लो साता प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याएको थियो।

मृतकका बुवा नन्दबहादुर मल्लले २०७९ साउन १३ गते दिएको पुरक जाहेरीमा हत्या घटनामा टाइगरसहित अखिल क्रान्तिकारीका अध्यक्ष सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल, अशोक भनिने अली कार्की र नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको उल्लेख छ।

सुर्खेत प्रहरी किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पुर्जीका लागि अदालत पुगेको थियो। अदालतले माघ ७ गते पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले त्यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पनि पक्राउ पुर्जी लिएको थियो।

प्रहरीका अनुसार काठमाडौंबाट पक्राउ गरेर ल्याइएका शाही अपाङ्ग छन्। उनको खुट्टा चल्दैन्। ‘छोराछोरी पढाउनका लागि उनी काठमाडौंमा बस्दा रहेछन्,’ उनले भने, ‘मुख्य अभियुक्तले बयानका क्रममा घटनामा शाहीको पनि संलग्नता रहेको बयान दिएपछि पक्राउ गरेका हौं।’

प्रहरीले मुख्य अभियुक्त पक्राउ परेपछि मात्रै अन्यलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउने बताउँदै आएको थियो।

कालिकोटको पाखाबाट एसएलसीमा प्रथम भएपछि उच्च शिक्षा अध्ययनका लागि राजबहादुर सुर्खेत झरेका थिए। हत्या आरोपी मध्ये वीरबहादुर मल्ल हत्या गरिएका राजबहादुरका छिमेकी हुन्। उनी पहिलो स्थानीय तहको निर्वाचनमा खाडाचक्र नगरपालिका–९ बाट वडाध्यक्षका उम्मेदवार थिए।

अर्का आरोपी अशोक भन्ने अली कार्की गाउँमै शिक्षण पेशा गरिरहेका छन्। प्रहरीले अहिलेसम्म क्रान्तिकारीकी अध्यक्ष सिंहलाई भने पक्राउ गर्न सकेको छैन। सिंह प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटकी हुन्।

नागरिकन्यूजबाट