☰ open Loading... 19 May 2024|  

स्कुल टेक्न नपाएकी गमता छाउप्रथाविरुद्ध विद्रोह गर्दै बनिन् राज्यमन्त्री
पश्चिम नेपाल   | १९ बैशाख २०८१, बुधबार ०८:३३

विद्यालयमा पाइला समेत टेक्न नपाएकी गमता विकलाई कहिल्यै लागेको थिएन कि राज्यमन्त्रीको पदमा पुगुँला भनेर । यदि समानुपातिक समावेशी, सङ्घीयता र दलित कोटाको व्यवस्था नभएको भए यतिबेला आफ्नै गाउँको चुलो चौकोमा सीमित हुन्थिन् ।

पश्चिम दैलेखको दुर्गम सात्तला गाउँकी गमता समानुपातिक सांसद हुँदै मंगलबार कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री बनेकी छिन् । मन्त्री बनेपछि उनमा खुसीको सीमा छैन । बाल्यकाल मेलापात गर्दै बिताएकी गमता स्कुलमा पाइला टेक्न नपाए पनि पश्चिम दैलेखमा छाउप्रथाविरुद्ध विद्रोह गर्ने अभियानताका रूपमा परिचित थिइन् ।

शान्ति प्रक्रियापछि पहिलो संविधान सभाको चुनावको तयारी हुँदै थियो । पश्चिम दैलेखको ग्रामीण गाउँमा छाउप्रथाविरुद्धका अभियान पनि त्यही बेलादेखि सुरु भए । चुनावी अभियानझैँ छाउपडी हटाउन साबिक सात्तला गाविस–५ की गमना, लकान्द्र–४ की रूपा विक, सिंगौडी–२ की कृष्णा शाहीले त्यो बेला निःस्वार्थ साहसिक अभियान थालेका थिए ।

२०५३ सालमा पहिलो पटक सुत्केरी हुँदा गमताले निकै निकै दुःख भोग्नुपर्यो । किनकि त्यो बखत पश्चिममा छाउपडीभन्दा सुत्केरी छाउ अझ कठोर थियो । १२ दिनसम्म गोठमा बस्नुपर्ने बाध्यता, अर्कोतिर गाई भैँसीलाई घाँस काट्नुपर्ने; सुत्केरी भएको तीन दिनमा पनि ठूलो रुखमा गएर घाँस काटेको बिर्सन सक्दिनन्, उनी । त्यसपछि उनलाई लाग्यो यस्तो खाले कुप्रथाका विरुद्धमा विद्रोह गर्नुपर्छ । त्यो समयमा छाउ भएको महिलाले बारीमा लगाएको अन्नबाली, घर वरपरको रुख, वृक्ष छोएपछि सुक्ने, गाई, भैँसी छोएपछि दूध दिन छाड्छ भन्थे । गमतालाई यी सबै कुराले मन पिरोलिरहेको थियो । २०५७ सालतिरको कुरा हो, अब आफूबाटै सुरु गर्नुपर्छ भनेर बेसारबारीबाट छाउप्रथाविरुद्ध विद्रोह सुरु गरेकी थिइन् ।

बेसारबारी गोडमेल गर्दा बेसारबारी सुकेन । अनि छाउप्रथा एउटा अन्धविश्वासको जड रहेछ भन्ने उनलाई लाग्यो । त्यसपछि महिनावारी हुँदा उनी भान्साभित्र पसेर खाना बनाउन थाल्नुका साथै भैँसी पनि आफैँ दुहुन थालिन् । तरकारीवारिमा जान थालिन् । दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु उनका लागि कम्ता चुनौती थिएन ।

‘महिनावारी नबारे देउता लाग्छ’ भन्ने मान्यताले जरो गाडेको त्यो बेलाको समाजमा गउनले कठोरताका साथ विद्रोह गरिन् । सुरुमा अवरोध भए पनि पछि उनकै नेतृत्वमा गाउँभरिका छाउगोठ भत्काउन सफल भएको थियो, उनी सम्झिन्छिन् । त्यति बेला गाउँमा महिलाहरूलाई मेलापात र भान्सामै सीमित गरिन्थ्यो । गमताले गाउँमा आमा समूहदेखि सडक खन्ने क्रममा समेत महिलाको नेतृत्व गरिन् । चार भाइ र तीन बहिनीमध्येकी जेठो सन्तान गमताका बुवा उदय कामी कालापहाड जान्थे । आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने जिम्मेवारी उनको काँधमा थियो । २०३० सालमा अहिलेको आठबीस नगरपालिका–१ को बडरुखमा जन्मिएकी उनका लागि पढाइ त कल्पना बाहिरको थियो । २०४९ सालमा गाउँकै हरिश कामीसँग विवाह गरिन् ।

विसं २०६१ मा विश्व खाद्य कार्यक्रमअन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको घर नजिकैको टोलमा महिला समूह गठन गरी साक्षरता कक्षा (प्रौढ शिक्षा) सञ्चालनको योजना बन्यो । त्यहीबाट उनी साक्षर भइन् । त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काम गर्ने प्रेरणा मिलेको उनी बताउँछिन् ।

गमताका श्रीमान् हरिश २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । उनकै प्रेरणाले गमता राजनीतिप्रति झुकाव राख्न थालिन् । एमालेको वडा, गाविस उपाध्यक्ष, इलाका र क्षेत्रीय कमिटीमा लामो समय काम गरिन् । २०७१ मा जिल्ला कमिटी सदस्य बनेकी उनी अहिले प्रदेश कमिटी सदस्य छन् ।

उनी भन्छिन्, ‘एक त महिला, त्यसमाथि दलित समुदायकी मान्छे, थुप्रै ठाउँमा अपमान सहँदै आइयो, पार्टीभित्र पनि निष्ठाको राजनीति कहाँ छ र ?’ गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरीयतालाई आधार बनाउने प्रचलन हुन्छ । जिल्ला कमिटी सदस्य हुँदा साबिक सात्तालामा अन्य पार्टीका त्यो तहका नेताहरू थिएनन् । तर गाउँसभामा दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार गर्न तयार नरहेको दुःखान्त स्मरण उनीसँग छ । त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै आज उनी राज्यमन्त्री बनेकी छिन् ।

२०६४ देखि ०७४ सम्म महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । त्यो बेला खाजा खान दिएको रकमले सुत्केरी गराउने बेड बनाउनेदेखि गाउँका गरिब, निमुखाको पक्षमा उभिएर अड्डा, अदालतसम्म धाइन् । गाउँमा उपचार सम्भव नहुँदा अशक्त बनेकाहरूको घाउमा मलम लगाउने स्रोत बनिन् । २०७४ मा उनलाई पार्टीले आठबिस नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनायो । स्वयंसेविकाबाट राजीनामा दिएर चुनाव लडेकी उनी ४२ मतान्तरले पराजित भइन् । गमता दैलेख जिल्लाबाट दलिततर्फ सांसद बन्ने पहिलो महिला हुन् ।

रातोपाटीबाट