☰ open Loading... 7 November 2024|  

अब जुम्ला रोडबाट सुरु हुँदैछ ‘हङ्गकङ बजार’
पश्चिम नेपाल   | ३१ बैशाख २०८१, सोमबार १८:२४

सुर्खेतको वीरेन्द्रनगरमा यसअघि सञ्चालनमा रहेको ‘हङ्गकङ बजार’ अब जुम्ला रोडबाट सञ्चालन हुने भएको छ। केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटीयालाईन आसपासबाट सञ्चालन हुँदै आएको हङ्गकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा पुनस्र्थापना हुन लागेको हो।

बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित सञ्चालनमा आउन लागेको हो। बजार सञ्चालनका लागि चाहिने संरचना निर्माणको काम सुरु भएको छ।

करिब १५ करोड लगानीमा नयाँ व्यवस्थापनसहित हङ्गकङ बजार सञ्चालन गर्न थालिएको हङ्गकङ बजार व्यवस्थापन समितिले जनाएको छ । यसका लागि साढे ६ कट्ठा जमिनमा संरचना निर्माण सुरु गरिएको छ।

नयाँ ठाउँमा ५० वटा सटर रहनेछन्। ५० जना व्यवसायीसहित २५० जनाले नयाँ सञ्चालन हुने बजारबाट प्रत्यक्ष रोजगारी पाउने जनाइएको छ ।

अब नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउने हङ्गकङ बजारमा फेन्सी पसलका साथै साकाहारी तथा मांसहारी एक/एक वटा रेष्टुरेण्ट पनि हुनेछन्। बजार क्षेत्रभित्रै पार्किङको पनि व्यवस्था रहनेछ।

यसअघि सञ्चालनमा भएको क्षेत्र नगरपालिकाको स्वामित्वमा रहेकोले नगरपालिकाले सार्वजनिक संरचना बनाउन व्यवसायीहरुलाई खाली गर्न लगाएको थियो। विनाविकल्प व्यवसाय गरिरहेको ठाउँ छोड्नुपरेपछि व्यवसायीहरु मर्कामा परेका थिए।