☰ open Loading... 3 December 2024|  

काल बन्दै चट्याङ: २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते
पश्चिम नेपाल   | १ जेष्ठ २०८१, मंगलवार ०९:३५

केही दिनअघि मात्र अछाम रामारोशनमा घरकै ढोकामा बसिरहेको बेलामा चट्याङ लागेर ६ वर्षीय बालक कमल भण्डारीको मृत्यु भयो। गत चैत २४ गते जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुमित कुशवाहको चट्याङकै कारण मृत्यु भयो। सोही दिन नै बागलुङको ढोरपाटनका ५६ वर्षीय कुमबहादुर पुनको पनि चट्याङ लागेर मृत्यु भयो। त्यतिबेला चट्याङले डडेल्धुरामा तीन जनालाई घाइते बनायो। यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्। हरेक वर्ष चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्। प्री–मनसुन सुरु भएयता वैशाख महिनामा मात्र १३ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्। लगभग पाँच साताअघि सुरु महिनाअघि सुरु भएको प्री–मनसुन अवधि सकिन अझै एक महिनाजति लाग्छ। यअसघि २०८० सालमा चट्याङले ४३ जनाको ज्यान लियो भने २१७ जना घाइते भए। २०७९ सालमा पनि चट्याङ लाग्दा ७३ जनाको मृत्यु भएको थियो भने १७६ जना घाइते भएका थिए।

जल तथा मौसम अनुमान विज्ञान विभागका अनुसार केही दिन हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ। चैतदेखि सुरु हुने प्री–मनसुनको अवधि जेठ महिनासम्मै रहने हुनाले थप एक महिना नेपामला हावाहुरी तथा चट्याङको उच्च जोखिम हुने बताइएको छ। चट्याङबाट बच्न अब एक महिना सबैलाई सचेत रहन विभागले आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रायः प्री–मनसुनको अवधिमा हावाहुरी चट्याङ प्रायः दिउँसो २ बजेपछि दुई–तीन घण्टाको अवधिमा पर्ने गर्छ। अहिले स्थानीय बादलसँगै बंगालको खाडीबाट आएको जलवाय मिसिएकाले दुईदेखि तीन घण्टा पानी पर्ने सम्भावना समेत रहन्छ।

कसरी पर्छ ?

प्री–मनसुनमा पृथ्वीको उत्तरी गोलाद्र्धमा सिधा घाम लाग्ने हुनाले जमिन तातेर हुने संवहन (कन्भेक्सन) ले वाष्प तलबाट छिट्टै माथि जान्छ। उक्त वाष्प केही समय बादलमा बस्छ र पछि खस्छ। स्थानीय वायु र बादलमा सकारात्मक र नकारात्मक चार्ज हुन्छ। यो चार्ज आपसमा ठोक्किने क्रममा करेन्ट (बिजुली) पैदा हुन्छ। यो चार्ज बादलभित्रै सीमित रहँदा सामान्य चट्याङ पर्छ। त्यो चार्ज बादल छाडेर जमिनमा पर्न गए कडा चट्याङ बन्छ। त्यही कडा चट्याङ पर्दा मानिस या पशुपन्छीलाई करेन्ट लाग्ने गर्छ। चट्याङ पर्दा पहिला प्रकाश आकाशमा देखा पर्छ र पछि चट्याङको आवाज आउँछ। प्रकाशको भन्दा आवाजको गति ढिला हुने भएकाले चट्याङको आवाज पछि मात्र पृथ्वीमा आइपुग्छ।

मौसमविद् अधिकारीका अनुसार पहाडी भागमा प्रायः चट्याङ दिउँसो २ बजेपछि दुई–तीन घण्टाको अवधिमा र तराईमा रातिसम्मै चट्याङ पर्ने सम्भावना हुन्छ। तराईको तुलनामा पहाडमा चट्याङको असर बढी परेको देखिन्छ। बादलबाट पृथ्वीमा करेन्ट आउने क्रममा अग्ला टावर तथा रूखहरूमा ठोक्किने हुनाले तुलनात्मक रूपमा पहाडमा बढी मात्रामा चट्याङ पर्ने गरेको हो। बादल तलबाट माथि जाँदा पहाडले छेकिँदै जान्छ भने माथिबाट तल आउने करेन्ट पनि पहाडमै ठोक्किने क्रममा पहाडमा बढी मात्रामा चट्याङ पर्ने गरेको मौसमविद्हरू बताउँछन्। अधिकारीका अनुसार नेपालमा मकनवापुर, तराईमा चुरेको तल्लो भाग, फापरबारीमा बढी चट्याङ पर्छ।

कुन समयमा ? कहाँ ?

चट्याङविद श्रीराम शर्माका अनुसार दक्षिण एसियाली मुलुकहरूमा बर्सेनि चट्याङ पर्छ। नेपालको तराई र पहाडी भूभागमा, भारतको उत्तराखण्ड, उडिसा, बंगलादेशको उत्तरपूर्वी भागमा चट्याङ बढी पर्छ। नेपालमा पहाडी भूभागमा दिउँसोको २ देखि ५ बजेभित्र र तराईमा राति ७ बजेपछि पनि चट्याङ पर्ने गर्छ। तर तुलनात्मक रूपमा यसको असर नेपालमा बढी परेको तथ्यांक र अनुसन्धानले औंल्याएका छन्। तथ्यांकअनुसार प्रति १० लाख जनसंख्यामध्ये नेपालमा चार जनाको चट्याङका कारणले मृत्यु हुन्छ भने बंगलादेशमा २ जना र भारतमा १.५ जनाको मृत्यु हुन्छ।

डा. शर्माका अनुसार नेपालमा अन्य देशको तुलनामा बढी मात्रामा चट्याङका कारण बढी क्षति हुने गरेको देखिन्छ। यसको कारण नेपाली दिउँसोको समयमा घरबाहिरको काममा हुनु हो। चट्याङ पर्दा घरबाहिर खेतबारी या रुखमुनि बस्ने चलनले पनि बढी क्षति हुन जान्छ। चट्याङले बढी असर गर्नुको दोस्रो कारण भौगोलिकता हो।

नेपालको धेरैैजसो भूभाग पहाडी क्षेत्र छ र यो क्षेत्रमा चट्याङको प्रभाव बढी पर्छ। तेस्रो कारणमा नेपालमा कृषि पेसामा आधारित देश हो। दिउँसोको समयमा खेतबारीमा काम गर्ने, गाईबाख्रा चराउन जाने हुनाले चट्याङ कृषकहरूमा बढी यसको असर परेको देखिन्छ।

गाउँघरमा सुरक्षित घर नहुनु पनि चट्याङ लाग्नुको चौथो कारण हो। अहिले पनि नेपालका पहाडी तथा गाउँघरका घरहरू ढुंगामाटाले बनेको र परालले छाएका बढी मात्रामा छन्। यस्तो कच्ची घरमा चट्याङ पर्दा फर्केर जाँदैन। गाउँघरमा पहिला घर बनाउँदा त्रिशूल, तामा जमिनमुनि या धुरीमा राख्ने चलन थियो। यसो गरे घरमा चट्याङ नपर्ने शर्मा बताउँछन्। पछिल्लो समय अर्थिङ राखे चट्याङ पर्दैन भन्ने मान्यता पनि छ। यो बिजुलीबाट आगलागी नहोस् भनेर राखिएको उनको भनाइ छ।

नेपालमा जनचेतनाको कमी, सरकारले विपद्बारे पूर्वसूचना दिने अभ्यासको कमीजस्ता कारणले पनि नेपालमा बर्सेनि चट्याङबाट बढी मात्रामा क्षति बेहोर्नुपरेको शर्मा बताउँछन्। उनका अनुसार चट्याङ पर्ने दिन, ठाउँ आदिका बारेमा पूर्वसूचना नागरिकलाई दिने चलनले क्षति कम हुने सम्भावना रहन्छ। हरेक नागरिकलाई चट्याङबारे दिइने जनचेतनाले पनि स्वयं सचेत भई क्षति कम हुन्छ। चट्याङ पर्नुअघि सुनिने सानो गड्याङगुडुङमै सुरक्षित ठाउँमा गएर बस्न सके क्षतिबाट बच्न सकिन्छ।

कसरी बच्ने ?

प्री–मनसुनको समयमा दिउँसोको समयमा खेतबारी या जंगलामा नजाने

बिजुली चम्केको समयमा रुख या अग्लो टावरमुनि नबस्ने

कृषकले यो मौसममा सकेसम्म बिहानको समयमा काम गर्ने

अस्वाभाविक गर्मी र बादल बढे सुरक्षित स्थानमा गएर बस्ने

जमिनमुनि तामाको पाता, आल्मुनियम आदि धातु राखेर घर बनाउने

जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना अपडेट गरेर मात्र कार्यक्रम बनाउने

सरकारले स्थानीय तहसम्म पुग्ने गरी विपद्सम्बन्धी जनचेतना दिने