☰ open Loading... 12 December 2024|  

विकासको मुहार फेर्दै पठान बस्ती
पश्चिम नेपाल   | १ जेष्ठ २०८१, मंगलवार १६:३७

२०२४ सालमा दैलेख र जाजरकोटबाट बस्ती सरेको वीरेन्द्रनगर नगरपालिका –१० स्थित पठान बस्तीमा ५७ वर्षपछि विकास देखिन थालेको छ। विगत ३ वर्षअघिदेखि स्थानीयहरुको अग्रसरतामा विकासे कार्यालयहरुमा आफ्ना समस्याहरु राख्न थालेपछि अहिले पठान टोलमा केही विकासका कार्यक्रमहरु हुन थालेका हो।

वर्षैदेखि १ सय २४ घरधुरीका नागरिकहरुले फोहोर कुवाको पानी खानुपर्ने समस्या उनीहरुको थियो। अहिले कर्णाली प्रदेश सरकार जलश्रोत तथा उर्जा मन्त्रालयले विच गाउँमा बोरिङ्ग खनेपछि सफा पानी आएको छ।

अब बोरिङ्गबाट आएको पानी वितरण गर्ने कार्यका लागि सरकारसंग माग गरेका छन्। बोरिङ्गबाट विच गाउँमा पानी आएपछि खानेपानी देखि सरसफाईमा सहज भएको स्थानीय अगुवा रने बहादुर सुनारले बताए। त्यस्तै सिचाई सुविधाका लागि कृषि विकास निर्देशनालयमार्फत गाउँको माथि टंकी निर्माण गरिएको छ।

ट्याङ्कीबाट सिचाईका लागि पानी यसै वर्षबाट खेतबारीमा झर्नेछ। जसका लागि पाईपहरु आवश्यक रहेको सुनार बताउँछन्। सडक कच्ची भएपनि स्तरउन्नती गरिदिनका लागि सरकारसँग समुदायका अगुवाहरुको माग छ।

पुरानो बस्ती भएपनि पहुँच नपुग्दा अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनन्। चुनावमा नेताहरु विकासदेखि पुर्जासम्म दिने आश्वासन दिन्छन् तर, जितेपछि अनुहार समेत नदेखाउने गरेको आरोप पठान टोलबासीको छ।

बस्तीका समस्या समाधानका लागि नेताहरुले कुनै काम नगरेको आरोप उनीहरुको छ। बस्तीकै अगुवाहरु वीरेन्द्रनगरमा रहेका कार्यालयहरुमा विकास माग्न हरेक वर्ष जान थालेसँगै गाउँमा विकास देखिएको स्थानीय अगुवा हर्कबहादुर विक बताउँछन्।

‘फियान नेपालका सरहरुले विकासका लागि जागरुप गराएसंगै विकास माग्न हाकिमका चार्हने काम भयो। उनी भन्छन्, अहिले गाउँमा खानेपानीको बोरिङ्गदेखि सिचाई पोखरी समेत बनाईएको छ । अव, खानेपानीका लागि पाईप लाईन जरुरी छ।’

लालपुर्जा समस्या समाधानका लागि १ सय १८ घरधुरीले भुमि आयोगको हक प्रमाणका लागि विवरणसहित फारम समेत भरेका छन्। छिट्टै लालपुर्जा हातमा आउने विश्वास उनीहरुको छ। ‘बाँठाटाँठाहरुले त्यो बेला नापेर जग्गा लगे।’ स्थानीय अगुवा रने सुनारले भने, हामी त्यो बेलादेखि बस्दै आएपनि अहिलेसम्म पुर्जा हात परेन्।’

७ सय जनसंख्या रहेको बस्तीमा अधिकांश दलित र सिमान्तकृत समुदायहरु बस्ने गर्दछन्। उनीहरुको पुख्र्यौलीदेखि पेसा कृषिमा आवद्ध रहि आएका छन्। कामका लागि भारत समेत जाने गर्दछन्। न्युन शिक्षा र चेतनाको अभावले गर्दा उनीहरुमा पहुँच कम छ। जसले गर्दा यतिका वर्षसम्म विकासमा पहुँच पुग्न सकेन्।

उनीहरुलाई गाउँमै एउटा विद्यालयको खाँचो छ। विगतमा कुवामा किरा परेको पानी छानेर खानुपर्ने बाध्यता रहेको शान्ता विकले बताईन्। ‘घर नजिकै बोरिङ्ग खनेपछि सफा पानी आएको छ।’ शान्ता भन्छिन्। विकास नभएको हाम्रो विस्तारै विकासका गतिविधिहरु भईरहेका छन्।

फियान नेपाल, जिल्ला खाद्य अधिकार सञ्जाल लगायतका संघसंस्थाहरुको सहजिकरण समुदायका अगुवाहरुको अग्रसरतामा ३ वर्षदेखि लगातार पठान टोलको समस्याबाट बारेमा उठान हुँदै आएको थियो । संचारमाध्यममा समस्याहरु बाहिर आउन थालेसंगै समुदायका अगुवाहरु पनि मन्त्रालय र अन्य कार्यालयहरुमा आफ्ना मागहरु राखेका कारण अहिले विकासका केही कामहरु सुरुवात भएका छन् । सुन्दर गाउँ बनाउन अँझ थुप्रो कामहरु गर्नुपर्ने देखिएको छ । मुख्यत यहाँ आर्यआर्जनका क्रियाकलापहरु, घरघरमा धाराहरु लग्न अँझै बाँकी ।