☰ open Loading... 19 June 2024|  

भारतीय दुई ब्रान्डका ४ मसला आयात र बिक्रीमा रोक
पश्चिम नेपाल   | ५ जेष्ठ २०८१, शनिबार १८:३३

नेपालले भारतका दुई ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसला आयातमा रोक लगाएको हो ।

हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको छ । हङकङको खाद्य सुरक्षा केन्द्र (सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई चार प्रकारका मसलामा विभागले समेत रोक लगाएको जनाएको छ ।

विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । एमडीएचका उक्त मसला १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ छ ।

विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ ।