☰ open Loading... 18 June 2024|  

अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?
पश्चिम नेपाल   | ११ जेष्ठ २०८१, शुक्रबार १६:११

रिस उठ्नु स्वभाविक क्रिया हो । तर जब यो अनियन्त्रित हुन्छ, त्यसबेला भने समस्या निम्त्याउँछ । रिसअनुसार जीवन चल्न थाल्छ ।

अत्याधिक रिसले काममा, सम्बन्धमा मात्र होइन, गुण्स्तरीय जीवनमै परिवर्तन ल्याउँछ । रिस र आवेगले व्यक्तिलाई अप्रत्यासित शक्ति प्रदान भएको अनुभव गराउँछ । र, रिसले आफूलाई नियन्त्रण गर्न थाल्छ । यसले परिवार र समाजिक सम्बन्धलाई तहसनहस पार्ने मात्र नभई मनोरोगतर्फ धकेल्छ ।

रिसको प्रकृति

रिस एक भावनात्मक अवस्था हो, जुन कुनै कुराबाट हल्कादेखि तीव्र क्रोधको अवस्थासम्म पुग्नसक्छ । रिस आन्तरिक र बाह्य घटनाका कारण उत्पन्न हुन्छ । जस्तै- कुनै व्यवहार र बोलीबाट सहकर्मी, साथीभाइ र आफन्तबाट हुनसक्छ । बाह्य घटना, ट्राफिक जाम, कुनै योजनामा भएका काम अरुको कारणले रद्द हुनु, समाजमा आफनो विचार विपरीत काम हुनु जस्ता कारणले पनि रिस उठ्छ ।

कुनै अप्रिय घटनाको सम्झनाले पनि कहिलेकाहीं रिस उठ्न सक्छ ।

व्यक्त हुने सबै रिस नकारात्मक हुँदैनन्

रिस व्यक्त गर्ने प्राकृतिक र सहज तरिका भनेको आक्रामक प्रतिक्रिया दिनु हो । रिसको आवेगले धम्कीपूर्ण भाषा बोल्ने, झगडा हुने समेत परिस्थिति आउन सक्छ ।

आफूमाथि भएको अन्यायलाई पोख्न, स्वरक्षा गर्न र सकारात्मक लडाइँको लागि पनि रिसले सकारात्मक भूमिका खेलिरहेको हुन्छ । तर त्यसका लागि निश्चित मात्रामा क्रोध आवश्यक छ । त्यसकारण रिसलाई सधैं नकरात्मक भन्न मिल्दैन । जीवनयापन गर्न एक निश्चित मात्रामा क्रोध आवश्यक छ ।

अर्कोतर्फ, हामी प्रत्येक व्यक्ति वा वस्तुलाई शारीरिक रूपमा प्रहार गर्न सक्दैनौं, जसले हामीलाई रिस उठाउँछ । त्यो रिसलाई कानुन, सामाजिक मान्यता र सामान्य ज्ञानले हामीलाई कति टाढा लैजान सक्छ भन्ने कुराको सीमा निर्धारण गर्छ ।

अनियन्त्रित रिसले स्वास्थ्य समस्या

रिसाउँदा शारीरिक परिवर्तन शरीरमा हुन्छ । मुटुको दर र रक्तचाप बढ्छ, जसले शरीरमा उर्जाशील हार्मोन, एड्रेनालाइन र नोराड्रेनालिनको स्तर उत्पादन गर्छ । जो क्षणिक रिसाउँछ, उसलाई खासै असर गर्दैन । तर अनियन्त्रित रिस बारम्बार भइरहेमा दीर्घकालीनरुपमा डिप्रेसन, उच्च रक्तचाप र सधैंको टाउको दुखाइको समस्या गराउँछ ।

त्यसैले प्राकृतिक रिसलाई नियन्त्रण गर्न सक्नुपर्छ । रिसलाई सामना गर्ने प्रयत्न हुन्छन् ।

मानिसहरूले आफ्नो क्रोधित भावनाको सामना गर्न चेतना र अचेतन दुवै प्रक्रिया प्रयोग गर्छन् । जसमा रिस व्यक्त गर्नु, दबाउनु र शान्त हुनु मुख्य हुन् ।

आक्रामक नभई आफ्नो क्रोधित भावनाहरू शान्त ढंगले कुरा राख्नु सबैभन्दा स्वस्थ्य तरिका हो । जसको लागि एकछिन शान्त भएर आवश्यकता के हो भनेर स्पष्ट हुन र अरुलाई विना हानि गरी त्यसलाई पाउन अरुलाई विना हानि कसरी सकिन्छ ? भनेर पहिल्याउनुपर्छ ।

अर्को हो दबाउनु । रिसलाई दबाएर अर्को दिशामा लान सकिन्छ । यो तब हुन्छ, जब हामीले रिसबारे सोच्न कम गरी कुनै सकारात्मक कुरामा केन्द्रित हुन्छौं ।

रिसलाई रोक्न वा दबाउन र यसलाई थप रचनात्मक व्यवहारमा रूपान्तरण गर्ने उद्देश्य हो । यस प्रकारको प्रतिक्रियामा खतरा पनि छ । यदि रिसलाई बाहिरी अभिव्यक्तिलाई अनुमति दिइएन भने रिस मस्तिष्कभित्र जान सक्छ । जसले रक्तचाप बढेर उच्च हुने वा डिप्रेसन हुनसक्छ ।

व्यक्त गर्न नसकेको रिसले अन्य समस्या सिर्जना गर्न सक्छ । जस्तै, सम्बन्धितलाई केही नभन्ने तर व्यवहारबाट रिस पोख्ने, अरुको अगाडि नराम्रो देखाउने र सबै कुराको आलोचना गर्ने गर्न सक्छन् ।

यस्ता निन्दनीय टिप्पणी गर्ने मानिसले आफ्नो क्रोध कसरी रचनात्मक रूपमा व्यक्त गर्ने भनेर सिकेका हुँदैनन् ।

अर्को भनेको रिसलाई शान्त राख्न सकिन्छ । यसको मतलब बाहिरी व्यवहारलाई मात्र नियन्त्रण गर्नु होइन । आन्तरिक प्रतिक्रियालाई पनि नियन्त्रण गर्नु हो । तीव्र भइरहेको मुटुको धड्कन कम गर्नका लागि गहिरो सास फेर्ने, सकारात्मक बन्ने र भावनाहरूलाई कम गर्न दिनुपर्छ ।

यी तीनवटै भावनाले काम नगरेमा कुनै न कुनै व्यक्तिमा आघात पुग्न सक्छ ।

किन केही व्यक्ति अरूभन्दा बढी रिसाउँछन् ?

केही मानिस तुलनात्मकरुपमा बढी रिसाउँछन् । कोही ठूलो भीडमा रिस उठेपनि देखाउँदैनन्, मौन बस्छन् । छिट्टै रिसाउनेहरु अरुलाई सधैं गाली गर्ने र सामान फाल्ने गर्दैनन् । कहिलेकाहीं सामाजिक रूपमा पछि हट्छन्, उदास हुन्छन् वा शारीरिक रूपमा थकित हुन्छन् ।

अमेरिकन साइकोलोजिकल एसोसिएसनमा प्रकाशित एक जर्नलअनुसार छिटो रिसाउनेहरूलाई सामान्यतया कम सहिष्णुता भएको भनेर चिनिन्छ । उनीहरुले भैपरी आउने अवस्थालाई एकै गतिमा लिन सक्दैनन् । र, तिनीहरू विशेषगरी क्रोधित हुन्छन् । स्थिति थोरै तलमाथि हुँदा पनि उनीहरुमा सहन नसक्ने बानी हुन्छ ।

अति रिसालु स्वभाव किन हुन्छ ? यसको कारण वंशाणुगत वा शारीरिक हुनसक्छ ।

आनुवंशिक रुपले हुने बच्चाहरू चिडचिडा र सजिलै रिसाउने स्वभावका हुन्छन् । र, यी लक्षणहरू जन्मेदेखि नै हुन्छ ।

अर्को सामाजिक र सांस्कृतिक परिवेशले हुनसक्छ । रिसलाई प्राय: नकारात्मक मानिन्छ । हामीलाई चिन्ता, डिप्रेसन वा अन्य भावनाहरू व्यक्त गर्न सबै ठीक छ तर रिस व्यक्त गर्न होइन भनेर सिकाइएको छ ।

नतिजा, हामीले यसलाई कसरी नियन्त्रण गर्ने वा यसलाई रचनात्मक रूपमा लैजाने भनेर सिक्दैनौं । रिससम्बन्धी भएका अध्ययन र अनुसन्धानले पारिवारिक पृष्ठभूमिले पनि भूमिका खेलेको देखाउँछ । सामान्यतया, सजिलै रिसाउने व्यक्ति विघटनकारी, अराजक र भावनात्मक सञ्चारमा कमजोर रहेका परिवारका हुन्छन् । उनीहरुलाई तनावपूर्ण वातावरणले क्रोधित बनाउँदै लान्छ । यस्तोमा सानो कुरामा मात्र होइन, हरबखत रिसाइरहने र व्यवहारमा देखिने पनि हुनसक्छ ।

के त्यसो भए त्यस्ता व्यक्तिको स्वभाव नियन्त्रण हुनसक्छ त ? पक्कै पनि यसको समाधान छ । त्यसको लागि रिसलाई ट्रिगर गर्ने कारण पत्ता लगाउनुपर्छ ।

रिस व्यवस्थापन गर्न सक्नुपर्छ

रिस व्यवस्थापनको लक्ष्य भनेको भावनात्मक भावना र रिसको कारण हुने शारीरिक उत्तेजनालाई कम गर्नु हो । रिसबाट छुट्कारा पाउन वा बेवास्ता गर्न सक्नुहुन्न । मात्र आफ्नो प्रतिक्रियाहरू नियन्त्रण गर्न सिक्नु नै रिस व्यवस्थापनको सूत्र हो ।

– शान्त रहन गहिरो सास फेर्न तरिका उपयुक्त हुनसक्छ । यसले उग्र हुँदै गएको क्रोधित भावनालाई शान्त पार्न मद्दत गर्न सक्छ ।

– योगा जस्ता मांसपेशी तन्काउने व्यायामले पनि शान्त राख्न मद्दत गर्छ ।

– रिस उठ्नेबित्तिकै त्यो ठाँउबाट हिंड्ने र शान्त भएपछि मात्र आउन सकिन्छ ।

– काल्पनिक कुरा सम्झिने र सम्झनामा भएका मीठा पललाई अनुभव गर्न सकिन्छ ।

संज्ञानात्मक तरिका

सरल शब्दमा भन्नुपर्दा यसको अर्थ तपाईंको सोच्ने तरिका परिवर्तन गर्नु हो । यस्तोमा प्रस्तुत हुनुअघि नै आफैंले एकपटक मनन् गर्ने समय लिनुपर्छ । र, यो नै जीवनको अन्त्य होइन र यसले ठीक गरिरहेको छैन भनेर मनमा विचार गरेर आफैंलाई सम्झाउन सकिन्छ ।

यदि यस्ता उपायले रिस नियन्त्रण हुँदैन । रिसले सम्बन्धहरुमा समस्या ल्याइरहेको जस्तो लाग्छ भने यसलाई नियन्त्रण गर्न लाइसन्स प्राप्त मनोचिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।