☰ open Loading... 14 December 2024|  

उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव
पश्चिम नेपाल   | १६ मंसिर २०८१, आईतवार ०७:३६

देशका विभिन्न स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनमा मतदान सुरु भएको छ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि मतदान भएको हो। बागमतीमा किर्तिपुर नगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्ष पदका लागि मतदान सुरु भएको बताइएको छ।

जस अन्तर्गत कोशी प्रदेशका ८ स्थानमा र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय निकायका ५ पदका लागि मतदान जारी छ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को वडाध्यक्षका लागि चुनाव भएको हो। लुम्बिनीमा एक गाउँपालिका उपाध्यक्ष र चार वडाध्यक्ष चयनका लागि मतदान सुरु भएको हो।

रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपप्रमुख, रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ४, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ र बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षका लागि पनि मतदान सुरुभएको छ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।