अज्ञात रोगले धमाधम चौरी मर्न थालेपछि मुगुका किसानमा चिन्ता थपिएको छ । मुगुमा कार्मारोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले चौरीहरू धमाधम मर्न थालेको थाह पाएपछि आफूहरूले ६ पशु स्वास्थ्यकर्मीसहितको टोली औषधीसहित पठाइसकेको बताए ।
मुगुमा कार्मारोङ गाउँपालिका-२ का छार्तेन लामाका अनुसार अज्ञात रोगले ५० भन्दा धेरै चौरीहरू मरिसकेको छ ।
छार्तेनले मुखबाट र्याल निकाल्ने, पातालो हरियो रंगको दिसा गर्ने, दिसामा हल्का रगत देखिने र यस्तो लक्षण देखिएको २४ घण्टाभित्र चौरी मर्ने गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत रावलले पालिकाको औषधि र जनशक्तिले नभ्याउने भएपछि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय गमगडी र कर्णाली प्रदेशलाई पत्र पठाएको बताए । उनले चौरीहरूको स्वाव संकलन गरेर ल्यावमा परीक्षणका लागि पठाउनु पर्ने देखिएको बताए ।
चिसोका कारण मुगु गाउँका स्थानीय तराइतिर अस्थायी बसाइ सरिसकेका छन् । गाउँमा कोही नभएकोले चौरी रहेका लेकमा स्वास्थ्यकर्मीको टोली पुग्न कठिन छ । चौरीहरू हिमाल तिरै भएकोले कति चौरी मरेका हुन भन्ने एकीन तथ्यांक भने संकलन भइसकेको छैन । बुधबार बिहानसम्म १ सय भन्दा बढी चौरीहरू मरिसकेको हुन सक्ने गाउँपालिकाले जनाएको छ ।