राष्ट्रिय मानव अधिकार आयोगले सात महिना अघि राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरूको प्रथाजनित अभ्यासको निरन्तरताका लागि दिएको निर्देशन तीन तहका सरकारले कार्यान्वयन नगरेको पाइएको छ। आयोगले लोपोन्मुख राउटे समुदायको स्थलगत अध्ययनपछि तीन तहका सरकारलाई लिखित निर्देशन दिएको थियो।
आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख रमेशकुमार थापाले स्थलगत अध्ययनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार र स्थानीय तहलाई कुन–कुन तहले के–के काम गर्ने भनेर निर्देशन दिइएको बताए । आयोगले राउटे समुदायको सुरक्षाका लागि घुम्ती प्रहरी चौकी स्थापना गर्न, संरक्षित क्षेत्र घोषणा गर्न, मदिरा र सुर्तीजन्य पदार्थ विक्री–वितरण बन्द गर्न, राउटे खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न निर्देशन दिएको थियो ।
‘केन्द्र सरकारलाई दिइएको निर्देशन पनि अहिलेसम्म कार्यान्वयन भएको पाइँदैन,’ थापाले भने, ‘एक मात्रै घुमन्ते र लोपोन्मुख समुदायको संरक्षण, सुरक्षा र प्रथाजनित अभ्यासको निरन्तरताका लागि सरोकारवाला सबै गम्भीर हुन जरुरी छ ।’
यस्तै आयोगले प्रदेश सरकार र स्थानीय तहलाई राउटे समुदायका नागरिकहरूलाई प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्यलगायतका सेवाका लागि राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने गरी घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न आयोगले निर्देशन दिएको थियो भने राउटे समुदायको उत्थान, मुलप्रवाहिकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्न, राउटेका मामिलामा काम गर्न कुनै खास निकायलाई जिम्मेवारी तोक्न पनि निर्देशन दिइएको थियो ।
यस्तै राउटे समुदायको गोपनीयताको अधिकार संरक्षणको लागि राउटेको स्वतन्त्र पूर्वसुसूचित मन्जुरी विना कुनै पनि श्रव्य दृश्य सामाग्री तयार, संकलन र प्रसारण नगर्न÷नगराउन, राउटे समुदायलाई आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरण कार्य नियमन गर्न, सामाजिक सुरक्षा भत्ता दिइरहेको गुराँस गाउँपालिका दैलेखलाई तत्काल ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र उपलब्ध गराउन, राउटे समुदायको खाम्ची मातृभाषाको पाठ्यक्रम विकास गरी घुम्ती विद्यालय सञ्चालन गर्न, राउटे बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन भनिएको थियो । प्रदेश र स्थानीय तहले पनि अहिलेसम्म आयोगको निर्देशन कार्यान्वयन गरेका छैनन् ।
उच्च अदालत सुर्खेतका कामु मुख्यन्यायाधीस कृष्णलाल भट्टराईले राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायका विषयमा दिएका निर्देशनलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले राउटे समुदायको न्यायिक पाटो हामी हेछौं, अरु निर्देशनहरू तीन तहका सरकारले कार्यान्वयन गरेर उनीहरूको सुरक्षा, सामाजिक न्याय र अधिकारका लागि गम्भीर हुन जरुरी छ ।’ उनले राउटे समुदाय घुमिरहेको कोरिडोरलाई विशेष संरक्षण क्षेत्र बनाउँदै प्रथाजनित अभ्यासलाई निरन्तरता दिने वातावरण बनाइनुपर्ने बताए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले राउटे समुदाय बसाई सरेसँगै उनीहरूसँगै प्रहरी चौकी नै सार्ने अवस्था हाललाई संभव नभएको बताए । ‘घुम्ती प्रहरी चौकी राख्ने व्यवस्था छैन,’ उनले भने, ‘तर उहाँहरू जहाँजहाँ सर्नुहुन्छ, त्यहाँ त्यहाँ सादा पोसाकमा प्रहरीहरू परिचालन गर्ने गरेका छौँ ।’ उनले राउटे समुदायका बारेमा कानुन नबन्दा काम गर्न अन्योल भएको बताए । ‘कानुन बनेमा हामीले त्यसलाई कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘अहिलेसम्म राउटे समुदायका बारेमा तीन तहका सरकारबाट कानुन नबनेकाले कार्यान्वयनमा समस्या भइरहेको छ ।’
गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले राउटे समुदायका लागि चाँडै एक जना नगर प्रहरी र एक जना स्वास्थ्यकर्मी खटाउने बताए । राउटे समुदायलाई गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र वितरण गरेको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता पनि गाउँपालिकाबाट वितरण हुँदै आएको छ ।
सामाजिक विकास मन्त्रालयका महिला महाशाखा प्रमुख अनिता ज्ञवालीले उनीहरूको प्रथाजनित परम्परालाई निरन्तरता दिइनुपर्ने बताइन् । ‘राउटे बस्तीमा पनि केही समस्याहरू छन्, बाह्य मदिरा, असम्बन्धित व्यक्तिहरूको प्रवेशले समस्या निम्त्याएको छ,’ उनले भनिन्, ‘यस्ता कुराहरूको नियन्त्रणका लागि सबै निकायबिच सहकार्य र समन्वय हुन आवश्यक छ ।’
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले राउटे समुदायको मानवअधिकारको अवस्था र आयोगको निर्देशन कार्यान्वयनका विषयमा सुझाव सङ्कलनका लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘लोपोन्मुख, नेपालको एक मात्रै घुमन्ते यो समुदाय कर्णालीको पहिचान हो,’ उनले भने, ‘यिनीहरूको संरक्षण, सुरक्षा र प्रथाजनित अभ्यासलाई निरन्तरता दिनका लागि सबैले सहयोग पु¥याउनुपर्छ ।’
सोसेक नेपालका अध्यक्ष हिरासिंह थापाले आफूहरू राउटे समुदायसँग काम गर्न थालेको सात वर्षको अवधिमा धेरै परिवर्तन आएको बताए । ‘राउटे समुदाय रुपान्तरणको चरणमा छ, अहिले अस्पतालमा आएर उपचार गर्ने, औषधि सेवन गर्ने, खाना खानुअघि हात धुने जस्ता कामहरू गर्दै आइरहेका छन्,’ उनले भने, ‘राम्रा कामहरूलाई निरन्तरता दिँदै सुधारको बाटोतर्फ डो¥याउनु आवश्यक छ ।’ उनले राउटे समुदायको जनसंख्या हरेक वर्ष घट्दै गइरहेको बताउँदै विधवा विवाहलाई प्रोत्साहन गर्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । हाल घुमन्ते राउटे समुदायको जनसंख्या एक सय ३४ जना छ । ती मध्ये २३ जना एकल महिला छन् ।