मुगुको मुगुमकार्मारोङ गाउँपालिका-१ मुगुगाउँका टासी लामा कात्तिक दोस्रो साता नै ८ जनाको परिवारसहित सुर्खेत झरे । उनी बर्सेनि हिमपात सुरु हुनुअघि नै झण्डै ५ महिनाका लागि सुर्खेत झर्छन् । ‘बाक्लो हिउँले गाउँमा बस्नै सकिदैन,’ तामाङले भन्छन्, ‘हिउँदभरि औलमा बस्छौं, चैत–बैशाखमाहिउँ बिलाएपछि मात्र गाउँ फर्कन्छौं ।’ शनिबार उनको गाउँमा झण्डै ३ फिट हिउँ जमेको थियो ।
हुम्लाको नाम्खागाउँपालिका-६ लिमीका छिरिङ तामाङ पनि ६ जनाको परिवारसहित मंसिर पहिलो साता नै सुर्खेत आए । उनी हिउँदयाममा सुर्खेत र नेपालगन्जमा राडीपाखी र भेडाका ऊनको व्यापार गर्छन् ।
‘शुक्रबार साँझदेखि लगातार हिउँ परिरहेको जानकारी आयो,’ गुम्बाका पुजारीमार्फत गाउँको हालखबर बुझ्दै आएका उनले भने, ‘अबनारा र न्यालु लेकको हिउँ नबिलाउँदासम्म गाउँ फर्कदैनौँ ।’ झण्डै ५ हजार मिटर उचाइका २ वटा लेकमा बाक्लो हिउँ जमेपछि गाउँ जाने बाटो नै बन्द भएको उनले बताए ।
हुम्ला र मुगुमा यो वर्ष तीनपल्ट हिमपात भइसकेको छ । अहिले मुगुगाउँ र लिमीमा गुम्बाका पुजारी मात्र छन् । स्थानीयले थातथलो छोडेपछि मुगुस्थित मुगमकार्मारोङका चितै, डोल्फू, किम्री, ताखा, खारीलगायत गाउँहरु सुनसान छन् ।