बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्रीलाई केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सय ८ घर भत्किए, ४ सय ६० घरमा आंशिक क्षति पुग्यो । घरमा बस्नै नमिल्ने भएका कारण जगन्नाथ–५ दर्जी टोलका एक दर्जन परिवारले त्रिपालमुनि आश्रय लिइरहेका छन् ।
बाजुराको उक्त भूकम्पयता दार्चुला, जाजरकोट र बैतडीमा पनि चार म्याग्निच्युडभन्दा माथिको भूकम्प गइसकेको छ । त्यसअघि पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा केन्द्रबिन्दु बनाएर पटक–पटक भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ८ पटक गएको छ । २०८० मा ५१ र २०७९ मा १९ पटक भूकम्प गएको तथ्यांक छ । जबकि त्यसअघि सात वर्षमा चार म्याग्निच्युडभन्दा ठूलो भूकम्प ती दुई प्रदेशमा ४६ पटक गएको थियो । यस्तै, २०७९ कात्तिक १५ देखि मंगलबारसम्ममा २ देखि ६ म्याग्निच्युडका भूकम्पको संख्या ३ हजार २ सय ४६ रहेको छ ।
साढे दुई वर्षको अवधिमा ६ म्याग्निच्युडभन्दा माथि तीन पटक भूकम्प गएको छ । कर्णालीको जाजरकोटमा गत वर्ष कात्तिक १७ मा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा १५७ जनाको मृत्यु भएको थियो भने ६० हजारभन्दा बढी घर भत्किएका थिए ।