चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रमा छ तालसहितको बुलबुले उद्यान । जहाँ जमिनमुनिबाट बुलबुल गर्दै पानी निस्किएको सानो ताल छ । जसलाई बुलबुले ताल भनिन्छ । त्यही तालको नामबाट बुलबुले उद्यानको नामाकरण गरिएको हो । बुलबुल गर्ने तालबाट बगेको पानी जम्मा हुने अर्को ठूलो ताल छ । पछिल्लो समय सोही तालले पर्यटकलाई तानिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ ।
पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब ६५७ मिटरको उचाइमा अवस्थित बुलबुलेको तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थलमध्ये एक बुलबुलेको ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्नसमेत सकिन्छ ।
बाह्र हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार ५०० वर्गमिटर बनाइएको छ । अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।
नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ ।
अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउँछिन् । ‘अहिले दैनिक औषतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउने गर्नुहुन्छ, दैनिक टिकट बिक्रीबाट १५ हजार आम्दानी हुने गरेको छ’, उनले भनिन् । बिदाका दिनमा रु ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मलाको भनाइ छ ।