पश्चिम नेपाल | २० फाल्गुन २०८१, मंगलवार १६:२२
झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा जागिर खाएका जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता लिई राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको नक्कली प्रमाणपत्र पेश गरी कोशी अस्पतालमा रेडियोग्राफर पदमा नियुक्ति लिएका थिए।
उनले २०७२ साल असोज १ गतेदेखि सो पदमा रही ओहोदा, लाभ र सुविधा लिइरहेका थिए।
छानबिनका क्रममा चौधरीले पेश गरेको शैक्षिक प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जनाए।