भारतको कर्नाटकस्थित प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा भएको जघन्य अपराधको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार राति तुंगभद्रा नहरको किनारमा एक २७ वर्षीया इजरायली महिला पर्यटक र २९ वर्षीया होमस्टे सञ्चालकमाथि तीन जना पुरुषले सामूहिक बलात्कार गरेका थिए।
सोही घटनामा एक पुरुष पर्यटकको नहरमा डुबेर मृत्यु भएको थियो। प्रहरीले दुई अभियुक्तलाई नियन्त्रणमा लिएर तेस्रो फरार अभियुक्तको खोजी तीव्र पारेको जानकारी दिएको छ। कोप्पल जिल्लाका एसपी राम एल अरसिद्दीले बीबीसी हिन्दीलाई पक्राउको पुष्टि गर्दै भने, ‘पक्राउ परेका दुई अभियुक्त भवन निर्माणमा काम गर्ने मिस्त्री हुन् र उनीहरू कोप्पलको गंगावती तालुकाका बासिन्दा हुन्।’
घटनाको जानकारी पाएलगत्तै प्रहरीले ६ वटा टोली परिचालन गरी खोजी कार्य सुरु गरेको थियो। एसपी अरसिद्दीले थपे, ‘पैसा लुट्ने उद्देश्यले सुरु भएको आक्रमण बलात्कार र हत्यामा परिणत भएकाे पाइएकाे छ। हामी फरार अभियुक्तलाई चाँडै पक्राउ गर्न प्रतिबद्ध छौँ।’
घटना बिहीबार राति करिब ११ बजे भएको थियो। पीडित महिलाहरूसहित पाँच जना (दुई महिला र तीन पुरुष) हम्पी नजिकैको दुर्गाम्मा मन्दिरको दर्शन गरेर तुंगभद्रा नहर किनारमा बसेका थिए। अचानक मोटरसाइकलमा आएका तीन जनाले उनीहरूमाथि हमला गरे।
पहिला तीन पुरुष (अमेरिकाका डेनियल, महाराष्ट्रका पंकज र ओडिशाका बिभास) लाई नहरमा धकेलेका थिए। त्यसपछि उनीहरूले दुई महिलामाथि सामूहिक बलात्कार गरेर भागे। डेनियल र पंकज पौडी खेलेर बाहिर निस्किए पनि बिभासको डुबेर मृत्यु भयो। शनिबार (आज) बिहान बिभासको शव नहरको पावर हाउस नजिकै फेला परेकाे थियाे।
पक्राउ परेकाविरुद्ध भारतीय दण्ड संहिताअन्तर्गत सामूहिक बलात्कार, डकैती, हत्या र हत्याको प्रयासका धारा लगाइएको छ। दुवै पीडित महिलालाई सरकारी अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हम्पीको यो घटनाले भारतमा पर्यटक सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।