☰ open Loading... 30 April 2025|  

वीरगञ्जमा दुई समुदायबीच झडपपछि कर्फ्यू जारी
पश्चिम नेपाल   | २९ चैत्र २०८१, शनिबार २३:१८

पर्साको वीरगञ्जमा शनिबार दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, चैत ३० गते साँझ ६:३० बजेदेखि चैत ३१ गते दिनको १२ बजेसम्म वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकी कर्फ्यू लागू गरिएको हो।

कर्फ्यू अवधिभर तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि पूर्णरूपमा निषेध गरिएको छ।

कर्फ्यूको क्षेत्र :

पूर्वतर्फ : भेडियाही चौक, वीरगञ्ज महानगरपालिका–१५

पश्चिमतर्फ : सिर्सिया पुल, वीरगञ्ज महानगरपालिका–२५

उत्तरतर्फ : गण्डक चौक, वीरगञ्ज महानगरपालिका–१४

दक्षिणतर्फ : शंकराचार्य गेट, वीरगञ्ज महानगरपालिका–१६

शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो। झडपका क्रममा केही पसलहरूमा आगजनी भएको र स्थानीय बासिन्दा तथा प्रहरीसमेत घाइते भएका छन्।

घटनापछि वीरगञ्जको अवस्था थप तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरेको छ।