बर्दियाको गुजरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्याक्टर चलाउँदै आएका सरोज गोडिया १० माघ २०८० मा पक्राउ परे ।
कर्णाली नदी किनारमा अड्किएका काठ ट्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले सब डिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो ।
वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्यो । कर्णाली नदी किनारमा बाढीले अलपत्र पारेका काठ संकलन गरेर ओसारपसार गरेको अभियोगमा १४ हजार ४३ रुपैयाँ बिगोबराबरको धरौटी राखेर उनी रिहा भए ।
वन कार्यालयका फरेष्टर भीष्मराज ओझाका अनुसार कर्णाली नदीबाट काठ निकाल्ने जो कोही पक्राउ पर्छन् । नदीले बगाएर ल्याएको काठ संकलन गरेर प्रयोग गर्न नपाउने कानुनी व्यवस्था छ ।


हरेक वर्ष वर्षायाममा कर्णाली नदीले काठ बगाएर ल्याउँछ । अधिकांश काठ भेलसँगै बगेर भारततर्फ जान्छन् । भारतको कोडियाघाटलगायत स्थानीयले ती काठ केही मात्रामा संकलन गर्छन् । नेपालमा भने कर्णाली नदीबाट काठ संकलनमा रोक लगाइएको छ । कानुनी जटिलताका कारण आफ्नै देशको काठ कुहिएर खेर गइरहेको छ ।



