राजस्व अनुसन्धान विभागले एउटै फर्मविरुद्ध राजस्व छलीको २१ करोडको मुद्दा दायर गरेको छ । अनुसन्धान विभागले राजस्व कार्यालय इटहरीमार्फत आइतबार जनकपुर राजविराजमा श्याम बस्त्रालयविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले भारतसँग जोडिएको विभिन्न नाकाबाट ल्याएका करोडौं मूल्यका कपडा बिल नै नकाटी बिक्री गरेको अभियोगमा बस्त्रालयका प्रोपाइटर श्यामप्रसाद गुप्ताविरुद्ध मुद्दा जाहेर गरिएको बताए । मुद्दामा बिगो १० करोड ६८ लाख ५५ हजार तथा सतप्रतिशत जरिवानासमेत २१ करोड ३७ लाख ११ हजार असुल उपरगरी जेल सजायसमेत हुनुपर्ने माग गरिएको छ ।


विभागले जारी गरेको विवरणअनुसार सिरहाको लहान नगरपालिका–८ स्थित बस्त्रालयमा छापा मारेर अनुसन्धान गर्दा राजस्व छली गरेको फेला परेको हो । राजस्व इटहरी कार्यालय प्रमुख उत्तम घिमिरेका सुराकीका आधारमा अनुसार गत मंसिर २० गते बस्त्रालयमा छापा मारेर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा कुर्तासलवार, सर्टिङसुटिङ लगायतका सामान बिना बिल बिक्री गरेको भेटिएको थियो । ‘ठूलो परिमाणमा कपडा भित्र्याएर सादा बील काटेर बिक्री गरेको भेटियो,’ उनले भने ।



