☰ open Loading... 25 May 2025|  

वन अधिकृतकै मिलेमतोमा वन फडानी!
पश्चिम नेपाल   | २३ बैशाख २०८२, मंगलवार १५:०१

रौतहटको चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा व्यापक वन फडानी भएको छ। डिभिजन वन कार्यालय रौतहट प्रमुखकै मिलेमतोमा व्यापक वन फडानी भएको आरोप लागेको छ।

गत एक महिनामा रौतहटमा पाँच बिघाभन्दा बढी क्षेत्रफलको वन क्षेत्र पूर्णतः फडानी भएको छ भने वन क्षेत्रमा हजारौं रूख कटान गरिएको घटनामा वन कार्यालय प्रमुख हेमप्रसाद साहको प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ।

रौतहटको चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा वन कार्यालयकै मिलेमतोमा व्यापक वन फडानी भइरहेको वन जंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले आरोप लगाएका छन्। गत एक महिनाभन्दा केही समय अघिदेखि गैंडाटार वन क्षेत्रमा व्यापक रूख कटान भएको बताउँदै संयोजक यादवले पाँच बिघाजति क्षेत्रफलको वन सम्पूर्णतः फडानी गरिएको आरोप पनि लगाएका छन्।

डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहकै मिलेमतोमा गैंडाटारमा वन क्षेत्र फडानी गरिएको र फडानी भई खाली भएको जमिनमा वृक्षरोपण गरिएको आरोप संयोजक यादवको रहेको छ। घटनालाई ढाकछोप गर्न खाली जमिनमा वृक्षरोपण गरिएको संयोजक यादवको भनाइ छ।

वन क्षेत्रको खाली जमिनलाई अतिक्रमणबाट जोगाउन वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयले जनाएको थियो, तर वन अधिकृत साहकै मिलेमतोमा गैंडाटारका साथै अन्य वन क्षेत्रमा पनि व्यापक रूख कटानी भएको यादवको दाबी छ। मधेस प्रदेशका वनमन्त्रीलाई चुनौती दिँदै यादवले भने, ‘रौतहटको वनमा भइरहेको व्यापक फडानीको निरीक्षण गर्न म मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई चुनौती दिन्छु।

रौतहटको वन क्षेत्रमा भइरहेको व्यापक फडानीमा मधेस प्रदेशको वन मन्त्रालय तथा वनमन्त्रीको पनि संलग्नता रहेको संयोजक यादवले आशंका व्यक्त गरेका छन्। रौतहटको वन क्षेत्रमा व्यापक मात्रामा भइरहेको फडानी तथा रूख कटानका विषयमा वन मन्त्रालय, सरोकारवाला निकाय तथा वनमन्त्रीसमेतलाई जानकारी हुँदाहुँदै पनि घटनालाई आलटाल गर्ने र ढाकछोप गर्ने काम भइरहेकोमा संयोजक यादवले आपत्ति जनाएका छन्।

रौतहटका वन अधिकृत हेमन्तप्रसाद साहले विगतमा पनि वन क्षेत्र व्यापक फडानी गरेर इतिहास कायम गरेको आरोप संयोजक यादवको रहेको छ। केही वर्षपहिले महोत्तरीमा वन प्रमुख हुँदा रम्तेल डाँडाको वन क्षेत्र फँडानी गरेको र सो आरोपमा साह निलम्बितसमेत भएको संयोजक यादवको दाबी छ। निलम्बन फुकुवा भएपछि जिम्मेवारीमा आएका वनअधिकृत साहले अहिले पनि वन फडानी गराइरहेको यादवको भनाइ छ।

डिभिजन वन कार्यालय, वन अधिकृत साह र वन माफियाको मिलेमतोमा वन क्षेत्रमा रूख कटान गरी साइकलमा रूख ढुवानी गर्नेहरूको संख्यामा वृद्धि भएको संयोजक यादवको भनाइ छ। वन क्षेत्रबाट साइकलमा काठ ढुवानी गर्नेहरूले एक हजारदेखि एक हजार पाँच सय रूपैयाँसम्म वन कर्मचारीलाई बुझाउने गरेको संयोजक यादवको आरोप रहेको छ।

गैंडाटारमा पाँच बिघा वन क्षेत्रको रूख फडानी गर्नेलाई वन अधिकृत साहकै संरक्षण रहेको गम्भीर आरोप संयोजक यादवले लगाएका छन्। अहिले पनि वन क्षेत्रमा रूख कटान भइरहेको बताउँदै संयोजक यादवले जंगलमा रूख काटेर माटो र पातपतिंगरले छोपेको तथा रूख काटेर खाली भएको जमिन जोतेर मकै छरिएको पनि पाइएको बताएका छन्।

वन कार्यालय र वन मन्त्रालयलाई सबै घटनाको जानकारी भएको तर सबै मिलेर ढाकछोप गरिरहेको आरोप यादवको छ। घटनालाई ढाकछोप गर्न वनसित सम्बन्धित सबै लागिपरेको बताउँदै यादवले वन फडानी र रूख कटानका विषयमा छानबिन गर्न पनि माग गरेका छन्।