कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले देश विकासमा निर्माण व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । बुधबार डुङ्गेश्वर गाउँपालिकास्थित डाँडापराजुल मोटरबाटोको शिलान्यास गर्दै कँडेलले विकास र निर्माणको जिम्मेवारी केवल कर्मचारी र जनप्रतिनिधिमात्र होइन भन्ने सोचमा परिवर्तन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले फरक–फरक भूमिका भए पनि विकास निर्माण समयमै सम्पन्न गर्नु सामूहिक दायित्व भएको उल्लेख गर्नुभयो । “विकासमा सबै पक्षको हातेमालो जरुरी छ, निर्माण व्यवसायीको योगदान विना ठूला पूर्वाधार सम्भव छैन,” उहाँले भन्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री गोमता विकले ग्रामिण भेगमा पछिल्लो समय उल्लेख्य विकास देखिएको बताउँदै जनताले सेवा र सुविधा छिटो र सहज रूपमा पाउने वातावरण बन्न थालेको बताउनुभयो ।
त्यस्तै प्रदेश सभा सामाजिक विकास समिति सभापति पूर्णबहादुर खत्रीले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय तहबीचको एकता आवश्यक रहेको उल्लेख गर्दै यस्ता आयोजनालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


डाँडापराजुल मोटरबाटो निर्माण कार्यको जिम्मा लिएको निर्माण व्यवसायी ACKKBNSJV कम्पनीले उक्त आयोजनालाई २ वर्षभित्र सम्पन्न गर्ने जानकारी दिएको छ। कुल लागत २८ करोड १२ लाख ७५ हजार ९३७ रुपैयाँ रहेको उक्त आयोजनाबारे कर्णाली प्रदेश निर्माण व्यवसायी महासचिव तथा जेभीका निर्देशक मानव बमले जानकारी दिनुभयो ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले पालिकासम्मको कालोपत्रे सडक निर्माण तोकिएको समयमा सम्पन्न गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।



