रमेश भट्टराई
दैलेख । नारायण नगरपालिकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम प्रदान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न प्रारम्भिक कक्षाको सिकाइ सुधार गर्नु पर्ने भन्दै पलिकाले शिक्षक तालिम प्रदान गरेको हो ।
युनिसेफ नेपालको आर्थिक सहयोग, स्याक नेपालको प्राविधिक सहयोग तथा नारायण नगरपालिकाको आयोजनामा १५ विद्यालयका आधारभूत तह कक्षा १- ३ सिकाउने शिक्षकहरूलाई तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले तालिममा सिकेका सीप कक्षाकोठामा लैजान नसकेमा तालिमको महत्व नहुने बताए। उनले तालिमको आधारमा कक्षाकोठामा सिकाउन निर्देशन दिए ।आफूहरुको पहिलो प्राथमिकता शिक्षा भएको उल्लेख गर्दै नगर प्रमुख शर्माले नगरको शिक्षा विकासको लागि आफूहरु निरन्तर लागिरहने बताए ।
यस्तै सहभागी शिक्षक गीता कोइरालाले विद्यालयमा गुणस्तरीय शिक्षाको लागि तालिमको कार्यान्वयनको अवस्था अनुगमन तथा सुपरिवेक्षण गरिनुपर्ने बताइन् । उनले नियमित अनुगमन गरेर गुणस्तर सुधारमा सहयोग गर्ने दायित्व सबै सरोकारवालाको भएको बताइन् ।
यसैगरी शिक्षक बखत बहादुर बुढाले तालिममा सिकेका महत्वपूर्ण कुराहरू विद्यालयमा लागू गर्ने बताए। अहिले शैक्षिक सत्रको सुरुमै भएकोले हामीले एकीकृत शिक्षण गर्नका लाई सुनौलो अवसरमा छ, उनले भने एकीकृत पाठ्यक्रमको मर्म अनुसार हामी अब शिक्षण गर्छौँ ।


वैशाख २५ गते देखि आज सम्म चलेको ५ दिने तालिममा एकीकृत पाठ्यक्रम, अवधारणा र ढाँचा, कार्यान्वयन अवस्था, क्रमिक सिकाइ रणनीति, मूल्यांकन आदि विषयमा सहजीकरण गरिएको थियो ।
खण्डिकृत सिकाइलाई निरुत्साहित गर्दै एकीकृत शिक्षण गर्ने तरिका, सिकाइ लाई वास्तविक जीवनसँग जोड्ने तरिका, व्यवहारकुशल शिप आदि बारे समेत तालिम प्रदान गरिएको स्याक नेपालकी शिक्षा अधिकृत निर्मला खड्काले बताइन् ।
तालिमको सहजीकरण एकीकृत पाठ्यक्रम प्रशिक्षक पुरुषोत्तम गिरीले गरेका थिए भने सञ्चालन नारायण नगरपालिका दैलेखका बालविकास संयोजक कर्ण बहादुर केसीले गरेका थिए ।
एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाइ सम्बन्धी कस्टमाइज्ड तालिममा आधारभूत तहमा सिकाउने २८ शिक्षकहरूको सहभागिता थियो ।



