हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी र पहिरोले लघु जलविद्युत पुरिँदा एक करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. दिनेश भट्टले मंगलबार सो जानकारी दिएका हुन् ।
बाढीपहिरोले खानेपानीमा पनि क्षति पुगेको छ । खानेपानी मर्मतका लागि पाइप पुर्याइसकेको भट्टले बताए । अब १८ सय मिटर पाइप जान बाँकी रहेको उनको भनाइ छ । ओभरसियर अहिले तिलगाउँमै बसेर काम सुरु गरेको उनको भनाइ छ ।


नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामासहितको राहतको टोली पनि घटनास्थल पुग्ने उनले बताएका छन् । साथै विपद व्यवस्थापन प्राधिकरणबाट पनि एउटा टोली त्यहाँ जाने ई. भट्टले बताए ।
‘आज नै हाम्रो टोली त्यहाँ पुग्दैछ । त्यसमा स्ट्रक्चरल इन्जिनियर, जिओलोजिस्ट, हाइड्रोलोजिस्ट र विपदविज्ञ गरी चार जना हुनेछन्’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले गाइड गरेअनुसार उनीहरुले त्यहाँको अवस्थाबारे अध्ययन गर्नेछन् ।’



