☰ open Loading... 13 June 2025|  

बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चार जना विरुद्ध मुद्दा दर्ता
पश्चिम नेपाल   | ७ जेष्ठ २०८२, बुधबार १७:४७

पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ओली, प्राविधिक खापासटे दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा, मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र त्यसका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध आरोपपत्र दायर गरेको हो ।

बाँफिकोट गाउँपालिका-२ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याटसहित १ करोड ९९ लाख ८२ हजार ७९३ रूपैयाँ ३७ पैसा कायम भएको थियो । उक्त योजना सञ्चालनका लागि बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड जाजरकोटबीच ७७ लाख ४४ हजार ५७० रूपैयाँ ५२ पैसामा सम्झौता भई भएको निर्माण कार्य फिल्ड प्रतिवेदन अनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरेको पाइएको आयोगले जनाएको छ ।

फिल्डमा भएको कामभन्दा बढी सडक निर्माण भएको भनी नापी किताब तयार गरे गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीको हस्ताक्षर नै नभएकोले उनीहरूको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाई छिपाई मापदण्ड बमोजिम भएको भनी नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार पारेको भेटिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यस आधारमा २१ लाख ६३ हजार ८६५ रूपैयाँ ४४ पैसा निर्माण व्यवसायीलाई बढी भुक्तानी दिनेरलिने कार्य गरी बाँफिकोट गाउँपालिका, रुकुम पश्चिमलाई हानी नोक्सानी र आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याउने कार्य गरेको पुष्टि भएकाले आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।