दैलेख – नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षका उमेरमा निधन भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँस्थित आफ्नै निवासमा उहाँको आज विहान निधन भएको नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो ।
कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत गरी तीन पटक साँसदमा हुनुभएको थियो । २०६४ मा त्यतिबेलाको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका ३० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट जित्ने उहाँ एक्लो साँसद हुनुहुन्थ्यो ।
२०५२ मा शेरबहादुर देउवाको मन्त्री मण्डलमा निर्माण तथा यातायात व्यवस्था सहायक मन्त्री बन्नुभएकै समयमा खड्काको पहलमा सुर्खेत–दैलेख मोटरबाटो र बिजुली बत्ति दैलेख सदरमुकाममा पुगेको थियो । २०६६ सालमा माधव नेपालको मन्त्रीमण्डलमा उहाँ राज्यमन्त्री बन्नुभएको थियो ।


२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका नेपाली काँग्रेसको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति हुनुहुन्थ्यो । २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको दैलेखमा उहाँले नेतृत्व गर्नुभएको थियो ।
उहाँको जन्म २०८२ साउन १४ गते दैलेखमा भएको थियो । उहाँका श्रीमति, २ छोरा र ४ छोरी छन् । जेठो छोरा र जेठी छोरीको यसअघि नै निधन भइसकेको छ । दैलेखको अग्रज राजीतिक व्यक्ति खड्काको राजनीतिक आन्दोलनको उपलब्धीको उत्सव गणतन्त्र दिवसको दिन निधन भएको छ ।



