करिब २५० करोड रुपैयाँ बराबरको बैंकिङ्ग घोटालामा संलग्न रहेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन संस्थापक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रायलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बेलहियाबाट पक्राउ गरेको हो ।
सीआईबीले जेठ १७ गते उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,’कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन अध्यक्ष प्रमुख कार्यकारी अधिकृत एवम् पटक–पटक विभिन्न समितिमा पदाधिकारी रहनु भएका व्यक्तिबाट कर्णाली डेभलपमेन्ट बैंकमा करिब २५० करोडभन्दा बढी रकम हिनामिना गरिएको आरोपमा अनुसन्धान भइरहेको छ।’


उक्त घटनामा रायविरुद्ध विभिन्न बैंक खातामा अस्वाभाविक कारोबार गरिएको तथा नेपाल राष्ट्र बैङ्कको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ।
सीआईबीका अनुसार यो प्रकरण नेपाल राष्ट्र बैङ्कको सिफारिसमा अनुसन्धान अघि बढाइएको हो। अनुसन्धान टोलीले देशभरका बैंक तथा वित्तीय संस्थाको कारोबार विवरण संकलन गरिरहेको छ।



