☰ open Loading... 18 June 2025|  

ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए
पश्चिम नेपाल   | २० जेष्ठ २०८२, मंगलवार ०६:३५

उदयपुरको सदरमुकाम गाईघाटमा पाउरोटीमा ढुसी परेकोबारे गुनासो गर्न जाँदा एक उपभोक्ता कुटपिटमा परेका छन्। त्रियुगा नगरपालिका-११, पुरानो गाईघाटका सुभनारायण ठाकुरले सोमबार अखाद्य वस्तु बिक्रीको विरोध गर्दा आक्रमणमा परेका हुन्।

पीडित ठाकुरका अनुसार, छिमेकी २१ वर्षीय प्रशान्त चौधरी र त्रियुगा नगरपालिका-१२ बुद्धचोकका ३० वर्षीय सञ्जु चौधरीले आफूमाथि मिलेर कुटपिट गरेका हुन्। कुटपिटबाट ठाकुरको निधार, गाला र नाकमा चोट लागेर अनुहार सुन्निएको छ। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

घटनाक्रमअनुसार, ठाकुरले सोमबार छोराछोरीलाई खाजा खुवाउन नजिकैको पसलबाट पाउरोटी किनेका थिए। घर पुगेर खान लाग्दा ढुसी परेको देखेपछि त्यसको तस्बिर खिचेर उनले स्थानीय पत्रकारलाई पठाएका थिए। सोही विषयमा जानकारी गराउन र अखाद्य वस्तु नबेच्न सुझाउन उनी पत्रकारसहित पसल पुग्दा सामान्य विवाद भएको थियो।

पीडित ठाकुरले आफूले बिक्रेता पसललाई कुनै आरोप नलगाई अखाद्य पाउरोटी उत्पादन गर्ने कारखानालाई कारबाही गर्नुपर्ने बताएको र सोही क्रममा पसलबाट फर्किँदै गर्दा पछाडिबाट आक्रमण भएको बताए।

‘हाम्रो मामिलामा किन बाठो भएर पत्रकार बोलाएको भन्दै उनीहरूले हातपात गरे,’ ठाकुरले भने, ‘मैले बिक्रेतालाई केही नभनेर ढुसी परेको अखाद्य पाउरोटी उत्पादन गर्ने कारखानालाई कारबाही गर्नुपर्छ भनेर पत्रकारलाई जानकारी गराएको भन्दा पनि छाडेनन्।’ पसल सञ्चालकका भतिज पर्ने प्रशान्त चौधरीले आफूमाथि निर्घात कुटपिट गरेको उनको दुखेसो छ।

पीडित ठाकुरले जिल्ला प्रहरी कार्यालय उदयपुरमा कुटपिट गर्ने व्यक्तिहरू र अखाद्य पाउरोटी उत्पादन गर्ने कारखाना पत्ता लगाएर कारबाही गर्न माग गर्दै उजुरी दिएका छन्।

उक्त पाउरोटी त्रियुगा नगरपालिका-५ देउरीस्थित ‘उदयपुर बेकरी’ ले उत्पादन गरेको खुलेको छ। पाउरोटीको खोलभित्र रहेको लेबलमा उत्पादन मिति अस्पष्ट रहेको र उत्पादन भएको ४ दिनसम्म प्रयोग गर्न उत्तम हुने उल्लेख छ।

पसल सञ्चालक दिनेश चौधरीले आफूले जानीजानी ढुसी परेको पाउरोटी नबेचेको र ग्राहकले जानकारी गराएपछि मात्र ढुसीबारे थाहा पाएको बताए। उनले कारखानामार्फत प्याक भएर आउने पाउरोटीको मिति अस्पष्ट हुँदा र सबै खोलेर हेर्न नसकिने हुँदा यस्तो हुन गएको दाबी गरे।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे उजुरी परेको पुष्टि गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाएर दोषीलाई उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।