अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढाको समेत नाम समावेश छ ।
७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर भएको हो । बुढा तत्कालीन उपभोक्ता समितिका अध्यक्ष हुन्, त्यो पनि फर्जी ।
उनीहरुले डोल्पाको ठुलोभरी नगरपालिका—४, तिप्ला (साविक दुनै गाविस—२/३) मा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामक नक्कली विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०६७/०६८ मा जिल्ला डोल्पाको तत्कालीन दुनै गाउँ विकास समितिमा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामक काल्पनिक विद्यालय खडा गरिएको थियो ।’
उक्त विद्यालयको नाममा दुईकोठे भवन निर्माण गर्ने भन्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ बजेट निकासा गराउन उनीहरु सफल भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । तर, अनुसन्धानका क्रममा उक्त स्थानमा दुर्गा प्रावि नामक कुनै विद्यालय नरहेको र श्री लालीगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको पाइएको उनको भनाइ छ ।
जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख र लेखापालको मिलेमतोमा नक्कली विद्यालयको नाममा बजेट उक्त छुट्याइएको पाइएको अख्तियारले जनाएको छ । यद्यपि उक्त योजनाको प्रमुख योजनाकार भने नन्दसिंह बुढा नै भएको बताइएको छ ।


उनी हाल नेकपा एमालेका प्रदेश कमिटी सदस्य छन् भने उनै बुढाले आफ्नो सालो नाता पर्नेकी श्रीमती संगिता बुढालाई कोषाध्यक्ष बनाएर नक्कली कागजातका आधारमा रकम भुक्तानी गर्ने वातावरण मिलाएका थिए ।
‘उहाँ (संगिता) त्यो वेला सदरमुकाममा बसेर पढ्दै हुनुहुन्थ्यो, नन्दजीकै जोडबलमा उहाँलाई विद्यालय भवन निर्माण गर्नुपर्ने ठाउँमा जाने नपर्नेगरी कोषाध्यक्ष बनाइयोे,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘उहाँलाई नन्दजीले सबै काम म गरिहाल्छु, पछि चेकमा मात्रै हस्ताक्षर गरे भैजान्छ भनेर भनेका थिए ।’
सोहीअनुसार गाउँमा कहिल्यै नगएर चेकका हस्ताक्षर गरेकी संगिता पछि लोक सेवा आयोग पढ्न काठमाडौँ गइन् । संगिता लोक सेवा पास गरेर अहिले डोल्पाकै त्रिपुरासुन्दरीमा सिअनमी पदमा कार्यरत छिन् ।
एक दशकपछि अहिले आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि संगिता अचम्ममा परेकी छिन् । यो घटना यस्तो भएको छ भन्ने कुरा संगिताले गत वर्ष अख्तियारले बयानमा बोलाउँदा मात्रै थाह पाएकी थिइन् ।
तिप्ला तिनै नन्दसिंह बुढाको घर भएको ठाउँ हो । उनलाई चिन्नेहरुका अनुसार उक्त ठाउँमा बुढा परिवारकै रजगज चल्छ । जसको फाइदा नन्दसिंहहरुले उठाउँछन् ।



