☰ open Loading... 17 November 2024|  

भेरी–बबई डाइभर्सन आयोजना : मानवरहित मेशिनले सुरुङ खन्ने
  | १३ असार २०७४, मंगलवार ०९:२८

सुशील खड्का
(हात्तिखाल) सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यी आयोजनाको एकसय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित हात्तिखालमा टनेल बोरिङ्ग मेशीनबाट १२ किलोमिटर शुरु खनेर भेरी नदीको पानी बबईमा खसाल्ने उदेश्यले निर्माणाधिन यो आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम सम्पन्न भएको हो ।


मेशिनबाट सुरुङ खन्नु पूर्व २७५ मिटर क्षेत्रफल मेशिनलाई आवश्यक पर्ने भएकाले १५० मिटर सुरुङ र बाँकी बाहिरको भाग निर्माण गरिएको छ । अन्य आयोजनाको तुलनामा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले तोकिएको समयमै निर्माण पूर्वका सडक, सुरुङ मार्गको प्रवेशद्वार, डेढ सय मिटर सुरुङ, रिङ प्लान्ट निर्माणका साथै प्रभावित क्षेत्रमा सामाजिक÷आर्थिक विकासका क्रियाकलाप सञ्चालन गरिसकेको छ ।

४ मेगावाटको डिजेल पलान्ट जडान, २ लाख लिटर क्षमताको डिजेल भण्डार क्याम्प समेत निर्माण गरिएको छ । बबईमा ग्रामिण सडकहरुको ग्राभेल, खानेपानीका ७ इनार, सौर्य सिंचाईका लागि विद्युतीकरण, सिंचाई नहर मर्मत लगायतका क्रियाकलाप सञ्चालन गरिएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मिनराज ढकालले निर्माण पूर्वका संरचनाहरु सबै तयार भैसकेको जानकारी दिए । २ सय ५० मिटर लामो टनेल बोरिङ मेसिन (टबिएम) आउन अझैं २ महिना लाग्ने छ । ‘मेसिन आइसकेपछि जडान गर्नै झण्डै दुई महिना लाग्छ । उत्पादक कम्पनीले ५ मिटरसम्म खनेर आफै परिक्षण गर्नुपर्नेछ’ ढकालले भने ।

अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम हाल चीनको सांघाईमा छ । टिबिएम पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेसिन हो । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ निर्माण गर्न लागिएको छ । भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वत खन्न यो मेसिन प्रयोग हु“दैछ ।

अन्तर जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो तथा नमुना परियोजनामा हो । यस्तै प्रकृतिका ८ आयोजना अध्ययनको चरणमा छन् । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ढकालले सडक पहुँच, कम वातावरणीय क्षति, भेरीको पानी कम उपयोग, बा“धस्थलमा कम क्षति हुने भएकाले सिंचाई विभागले भेरी बबई अघि बढाएको बताए ।

बाँधस्थलमा ३० हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेछ । जुन धेरै न्यून हो । ‘मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा वेसिनबाट अर्को वेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्ने जस्ता विशेषताका कारण यो आयोजना नमूना छ’ उनले भने, ‘सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अघि बढाएकाले निर्धारित लक्ष्य हासिल गर्न सफल भएका छौं ।’

टिबिएमका लागि आवश्यक ५ मिटर ब्याससहित डेढ सय मिटर लामो प्रवेशद्वार मजदुरबाट खनिएको छ । बा“की १२ किमी सुरुङ खन्न टनेल बोरिङ मेसिनलाई कम्तीमा दुई–तीन वर्ष लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले लिएको छ ।

सिंचाई विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको थियो । आयोजनामा चिनिया“ र नेपाली गरी दुई सय ८६ जना कामदार छन् । सुर्खेतको भेरी–गंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बा“ध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रति सेकेण्ड ४० घनमिटर पानीलाई बबईमा फर्काइनेछ ।

बबईमा फर्काइएको पानीबाट ४८ मेगावाट विद्युत तथा बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महिना सिंचाई उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ दशमलब १ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट दुई दशमलब १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।