☰ open Loading... 18 November 2024|  

सुर्खेतमा पनि फेला पर्याे स्वाइन फ्लु एककाे मृत्यु, ४२ विरामी संकास्पद
  | २८ भाद्र २०७४, बुधबार १५:५२

सुर्खेत । सुर्खेतमा स्वाइन फ्लु रोगबाट संक्रमित भएका एक विरामीको भारतको लखनउमा मृत्यु भएको पुष्टी भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा लखनउमा मृत्यु भएको हो । डाँगीको स्वाइन फ्लु रोगबाट नै मृत्यु भएको पुष्टी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौंबाट सुर्खेत आएको टोलीले गरेको छ ।

सुर्खेतमा उनको उपचार हुन नसकेपछि थप उपचारको लागि भारत रिफर गरिएका डाँगीको मृत्यु भएको सहारे स्वास्थ्य चौकीका इन्चार्ज किरण ओलीले जानकारी दिए । उनकाे नाम भने गाेप्य राखिएकाे छ । उनले थप एक जनामा स्वाइन फ्लु भेटिएको पुष्टि भएपछि उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पताल पठाइएको बताए ।

काठमाडौंबाट रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनका डा. किरण चौलागाईको टोली सहारे आएको थियो । सोही टोली स्वाइन फ्लुबाटै डाँगीको मृत्यु भएको पुष्टी गरेको हो ।

इन्चार्ज ओलीका अनुसार सहारे स्वास्थ्य चौकीमा हाल ४२ जना संकास्पद विरामीहरुको उपचार भइरहेको छ । महामारीको रुपमा रोग फैलन नदिन सजकता अपनाएको ओलीको भनाई छ ।

उनले गम्भीर प्रकृतीका विरामी भएमा तत्काल काठमाडौं लैजाने गरी प्रवन्ध मिलाएको बताए । तत्काल स्वाइन फ्लुका विरामीका लागि आवश्यक औषधी समेत मौज्दात अवस्थामा राखिएको उनको भनाई छ ।

के हो स्वाइन फ्लू

स्वाइन फ्लू भाइरसबाट सर्ने सरुवा रोग हो । अहिले यो भाइरस संसारका करिब दुई सय देशमा फैलिसकेको छ । पहिला पहिला पनि देखा पर्ने गरेको भएपनि यो सन् २००९ मा मात्र विश्वव्यापी भएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रुपमा सन् २०१० मा प्रमाणित गरेपछि यसको नाम एचवान एनवान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो ।

भाइरसबाट सर्ने रोग भएकाले यसको प्रभावकारी उपचार र औषधी छैन । सुरुमा सुँगुरबाट फैलिएको हुनाले कतै कतै यसलाई सुँगुर ज्वरोसमेत भनिन्छ । चिकित्सकले यसलाई सामान्य रुघाखोकी बताउँदै आएका छन् । स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकी जस्तै सामान्य भएकाले आत्तिनुनपर्ने स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विशेष गरी रुघाखोकीलाई ३ समुहमा बाँडिएको छ । समुह ए,समुह बी र समुह सी । यी समुह मध्ये ए र बी बढि संवेदनशील मानिन्छ ।

रुघाखोकी अन्र्तगत समुह एमा अहिले नेपालमा २ वटा भाइरस सक्रिय छन् । एचवान एनवान र एचथ्री वानटू । यी भाइरस सधैं एकै क्षेत्रमा भने देखा पर्दैनन् । कहिले कुन ठाउँ कहिले कुन ठाउँमा सक्रिय हुने गरेका छन् ।

रुघाखोकीको अर्को समूहबी पनि संवेदनशील मानिन्छ । यसबाट कहिलेकाही प्रकोप नै देखा पर्न सक्छ । तर समयमै बिरामीको उपचार भएको अवस्थामा रोग निको हुन्छ । स्वास्थ्य संस्थामै यसको उपचार संभव भएको कारण यसबाट हुने मृत्युदर न्यून रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बावुराम मरासिनीले जानकारी दिए ।

सी समूहको रुघाखोकी भने सामान्य मानिन्छ । यो सामान्यतया २/३ दिनमै निको हुने भएकाले चिकित्सकहरुले यसलाई समान्य मान्ने गरेका छन् । नेपालमा स्वाइन फ्लू दुई सिजन भदौ र असोज तथा फागुन चैतमा देखा पर्ने गरेको छ । अहिले मौसम परिर्वतनको समय भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

मौसम फेरबदल हुँदा मौसमी फ्लू अर्थात मौसमी इन्फ्लूएन्जा स्वाइन फ्लूको खतरा हुने गर्छ । ‘स्वाइन फ्लू सर्ने रोग भएकाले पूर्व सर्तकता अपनाउन आवश्यक छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनले भन्नुभयो ‘मौसम परिवर्तनको बेला रुघा खोकी लाग्ने, ज्वरो आउने भएमा विरामीले तुरुन्त स्वास्थ्य परिक्षण गर्नु पर्छ ।’

स्वाइन फ्लूका लक्षण
स्वाइन फ्लूका लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातारजसो हाछ्युँ आउँछ । शरिरमा कमजोरी, आलशयता, औषधी सेवन गरेपनि विरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरिरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा विरामीको मृत्युसमेत हुन सक्छ ।

अन्य साधारण रुघाखोकीका विरामीले ३÷४ दिन आराम गरे निको हुने भएकाले आराम गरे मात्र पुग्छ । बालबालिका, बुढाबुढी र दिर्घरोगका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा संक्रमणको जोखिम बढी हुन्छ ।

स्वाइन फ्लूले विशेष गरी मुटु, कलेजो, मृगौला, छातीको रोग भएका, मधुमेह, एचआइभी एड्स रोग लागेका, बढी रक्सी पिउने, गर्भवती, बढि मोटोपना भएका विरामीलाई असर गर्ने चिकित्सकले बताएका छन् । यो रोग लाग्दैमा ज्यान जान्छ भन्ने होइन तर यस्ता विरामीले बढि सचेत बन्नुपर्छ ।

स्वाइन फ्लू कसरी फैलिन्छ
सुँगुरबाट मानिसमा सरेको हुँनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा भाइरस सर्ने संम्भावना बढि हुन्छ । हावाको माध्यमबाट पनि प्रभावित रोगी व्यक्तिबाट अर्को निरोगी व्यक्तिमा सर्न सक्छ । रोगीले खोक्दा, हाछ्युँ गर्दा किटाणु फैलिन्छ । साझा रुमाल, रेलिङ, रिमोर्ट, सवारीसाधनका समात्ने ठाउँहरुमा पनि भाइरस हुन सक्छन् जुन व्यक्तिको सम्र्पकमा आउँनाले सर्न सक्छ ।

कसरी जोगिने

  •  हिडडुल गर्दा मास्क लगाउने
  •  बढि भिडभाडमा नजाने
  •  रुघाखोकीका बिरामी भन्दा १ मिटर टाढा बस्ने, हात नमिलाउने
  •  रुमालले नाकमुख छोपेर मात्र हाछ्युँ गर्ने
  •  हात सफा गरिरहने
  •  झोल पदार्थ धेरै खाने