पाटन क्याम्पसका सहप्राध्यापक रवीन्द्रनाथ भट्टराई साउन ४ मा काठमाडौंबाट चीन प्रस्थान गर्नुअघि बेइजिङमा रहेका आफ्ना साथीलाई फेसबुकमा लेखे, ‘आज म बेइजिङ आउँदै छु । तपाईंसँग भेटेर कुरा गरौँला है ।’
उनका निकै मिल्ने साथी तीन वर्षदेखि बेइजिङमा बस्दै आएका थिए । उनीहरूबीच फेसबुकमा नियमितजस्तै कुरा हुन्थ्यो । उनले काठमाडौंबाट हिँड्नुअघि सन्देश लेखे र केहीबेरमा बेइजिङ उडे ।
साथीसँग भेटेर धेरै कुरा गर्ने र सँगै बेइजिङ घुम्ने रहर साँचेका भट्टराई बेइजिङ आइपुगेपछि कुहिरोको काग बने । उनले मोबाइलबाट बारम्बार फेसबुक खोल्न खोजे तर सम्भव भएन । के कारण हो पत्तो पाएनन् । साथीको फोन नम्बर पनि लिएका थिएनन् ।
सबै कुरा फेसबुकको भर पर्दा एक सातासम्म बेइजिङ बस्दा पनि ती साथी भेट्न सकेनन् । काठमाडौं फर्किएपछि फेसबुक खोलेर हेर्दा साथीले लेखेका रहेछन् ‘चीनमा तपाईंले फेसबुक चलाउन सक्नुहुन्न त्यसकारण मेरो मोबाइल नम्बर टिप्नुहोला । बेइजिङ आएपछि मलाई फोन गर्नुहोला अनि हामी भेटौँला ।’
फेसबुकको भर पर्दा चीनमा सम्पर्कविहीन हुने भट्टराई एक्ला नेपाली होइनन् । कलेज अफ जर्नालिजम एन्ड मासकम्युनिकेसन ९सीजेएमसी० की प्रिन्सिपल डा। मञ्जु मिश्रले पनि दुई वर्षअघि उही हाल बेहोर्नुपर्यो ।
उनले नेपालबाट हिँड्नुअघि बेइजिङस्थित एक साथीलाई फेसबुकमा जानकारी गराएकी थिइन् । ती साथीले उनलाई फोन नम्बर दिएका थिए । मिश्रले फोन नम्बर टिप्न आवश्यक ठानिनन् । तर बेइजिङ आएपछि मोबाइल, ल्यापटपबाट फेसबुक लग–इन गर्न सकिनन् ।
फेसबुक नचल्दा उनी पनि साथीलाई नभेटीकन फर्कन बाध्य भइन् । फेसबुकको भर पर्दा चीनमा आफ्नो साथीसँग सम्पर्क नै गर्न नपाई फर्किएका नेपालीहरू धेरै हुन्छन् । सबैले साथीहरूसँग फेसबुकमा कुराकानी गरिरहेकाले चीनमा फेसबुक प्रतिबन्धित छ भन्ने हेक्का नै राख्दैनन् ।
चीनमा सन् २००८ देखि फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो । सामान्य मोबाइल अथवा कम्प्युटरबाट कुनै पनि ब्राउजर प्रयोग गरेर फेसबुक चलाउन सकिन्न । फेसबुक मात्र होइन चीनमा युट्युब, गुगल, ट्वीटर, जिमेल लगायतका वेबसाइट तथा सामाजिक सञ्जाल पनि प्रतिबन्धित छन् ।
चीन सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाए पनि विदेशीसँग सम्पर्क गर्न प्रायस्जसो सरकारी निकायका फेसबुक आईडी छन् । चाइना डेली, पिपुल्स डेली, सीसीटीभी, सीआरआई तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग लगायतका थुप्रै संस्थाले फेसबुक चलाउँछन् ।
प्रतिबन्धित भए पनि फेसबुक चलाउन विभिन्न भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गर्नुपर्छ । कतिपय भीपीएन निस्शुल्क डाउनलोड गर्न मिल्ने हुन्छन् भने धेरैजसोचाहिँ पैसा तिरेर किन्नु पर्ने हुन्छ ।
अधिकांश नेपाली फेसबुकबाटै सञ्चार गर्छन् । चीनले फेसबुकजस्तै वी–च्याट बनाएको छ । यो चीनमा मात्र नभएर अहिले विश्वव्यापी बन्दै गएको छ । वी–च्याटमा टेक्स्ट म्यासेज गर्न, भ्वाइस म्यासेज गर्न लगायत भ्वाइस कल र भिडियो कल गर्न मिल्छ ।
यसमा फेसबुकमा जस्तै फोटो, भिडियो, विभिन्न समाचार र सम्बन्धित लिंकहरू पनि राख्न मिल्छ । चिनियाँले वी–च्याटलाई सामाजिक सञ्जालका रूपमा मात्र नभई सबै बैंकिङ कारोबार पनि गर्दछन् ।
वी–च्याटमार्फत् टयाक्सी भाडा तिर्ने कामदेखि रेस्टुरेन्टमा खाएको तिर्ने र सुपरमार्केटमा किनमेल गर्न पनि सकिन्छ । आफ्नो बंैक खातामा भएको असीमित पैसा अरूको खातामा सार्न र अरूबाट लिन पनि सकिन्छ ।
चिनियाँहरू पछिल्लो समयमा टेलिफोनको कम प्रयोग गर्छन् । धेरैजसो सञ्चार वी–च्याटबाट हुने गर्छ । स्मार्ट फोन बोक्ने सबै चिनियाँसँग वी–च्याट हुने गर्छ ।
चीनबाट फैलिएको वी–च्याट प्रयोगकर्ता अमेरिका, क्यानाडा, अस्ट्रेलिया, अफ्रिका, युरोप हुँदै संसारका सबै भागमा फैलिरहेको छ । अब नेपालबाट चीन भ्रमणमा आउनेले आफ्नो मोबाइलमा फेसबुक होइन वी–च्याट राख्न अनिवार्य जस्तै भएको छ ।
फेसबुकमा जस्तै वी–च्याटमा आफ्नो साथीलाई जोड्न भने बिर्सनु हुँदैन । फेसबुकको ठाउँमा वी–च्याट जस्तै ट्वीटरको ठाउँमा बिइपो र गुगलको ठाउँमा पाइतु चलाउँछन् चिनियाँहरू ।
स्राेत इकान्तिपुर