☰ open Loading... 24 November 2024|  

विद्यालय मर्ज गर्ने अभियान शुरु
  | ३० श्रावण २०७३, आईतवार ०७:०२

जिल्ला शिक्षा कार्यालय जाजरकोटले सामुदायिक विद्यालय मर्जको अभियान थालेको छ । विद्यार्थी संख्या, दुई विद्यालय वीचको दुरी, शिक्षक संख्या जस्ता कुरालाई आधार वनाएर तह १–३, १–५ र १–८ कक्षा संचालन विद्यालयहरु मर्ज गर्ने अभियान अघि बढेको हो ।

जाजरकोटका विभिन्न गाविसमा रहेको २० देखि २५ वटा सामुदायिक विद्यालय मर्ज नगरी नहुने अवस्थामा रहेकोले आगामी मंसिर महिनाभित्रै विद्यालयहरु मर्ज गरिसक्ने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिएका छन् । विद्यालय मर्जको लागि अहिले स्रोत व्यक्तिहरुलाई परिचालन गरेर विवरण संकलन गर्ने काम भैइरहेको उनको भनाई छ ।

दशेरा गाविस – ९ को शंकर प्राथमिक विद्यालय धैया र पूर्णज्योति पाथमिक विद्यालय धैया, सुवानाउली गाविस –४ को भैरव प्रावि रिप्कापानी र महादेव निमावि सुवानाउली, कोताङ्गको राधाकृष्ण प्रावि र महेन्द्र माध्यामिक विद्यालयको आधारभुत तह मर्ज गर्ने तयारी कार्यालयले गरेको छ ।

यस्तै लहँ गाविसका हिमालय प्रावि भाँचिउरा, रामभक्त प्रावि औल, जनता प्रावि पिपलचौर, निमावि रधुनाथ जस्ता विद्यालयहरु पनि मर्ज गरिने अधिकारी सिंह बताउँछन् । सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि कम विद्यार्थी संख्या भएका, कम दुरीमा रहेका विद्यालय एकआपसमा गाभ्ने नीति अख्तियार गदै आएको छ ।

जिल्ला शिक्षा अधिकारी सिंहले जाजरकोटमा विद्यालयको सख्या आबश्यकताको अनुपातमा बढी रहेकोले विद्यालयहरुलाई गाभ्ने, सार्ने र बन्द गर्नेतर्फ कार्यालयले योजना वनाएको उल्लेख गरे । साउन मसान्तभित्र स्रोतकेन्द्रले दिएको प्रतिबेदनको आधारमा ५० जना विद्यार्थी नभएका ५ कक्षासम्म चलेका, ३० जना विद्यार्थी नभएका कक्षा ३ सम्म चलेका विद्यालय मर्ज गरिने उनले उल्लेख गरे ।

उनले आधा घन्टा भन्दा कम दुरीमा रहेका र प्रयाप्त शिक्षक दरबन्दी नभएका विद्यालयहरु नजिकको विद्यालयसगँ तत्काल मर्ज गरेर संचालन गर्दा शैक्षिक गुणस्तरमा सुधार आउने दावी उनको छ । जिल्ला शिक्षा अधिकारी सिंहले एक आपसमा गाभिएर संचालन हुने विद्यालयलाई यस वर्ष ब्लक वितरणमा विशेष प्राथमिकता दिने र मर्ज हुन नमान्ने विद्यालयलाई मर्ज नहुन्जेलसम्मलाई ब्लक नदिने स्पस्ट पारे ।

जाजरकोट जिल्लाको शैक्षिक सुधारको लागि शिक्षा कार्यालयले अघि सारेको विद्यालय मर्जको अभियानमा आवश्यक सहयोग गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र समुदायलाई समेत उनले आग्रह गरेका छन् ।