☰ open Loading... 19 April 2024|  

हामी आयौं
  | ३ भाद्र २०७३, शुक्रबार ०२:४०

आजको संसार डिजिटल युगको हो । सूचना तथा प्रविधिमा आएको अपार परिवर्तनले आज विश्व समुदायलाई डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना तथा प्रविधिको विकासले विश्व एक गाउँजस्तै बनेको छ ।

संसारको कुनै पनि कुनाको समाचार तत्काल विश्वभर प्रवाह हुन्छ । विश्वमा कहाँ के भैरहेको छ सूचना तथा प्रविधिकै माध्यमबाट आफैले तत्कालै थाहा पाउन सक्छौं । यस कारण मानिसहरु डिजिटल प्रविधिमा रमाउन थाले । डिजिटल संसार नै आजको स्वर्णीम संसार हो ।

Sushil
सूचना प्रविधिले गर्दा सञ्चारमाध्यमको विकास दु्रत गतिले अघि बढेको हो । डिजिटल प्रविधिका कारण आमसञ्चारका साधनहरुले प्रभावकारी रुपमा काम गर्न पाएका छन् । विश्वमा अनलाइनको बढ्दो प्रभाव यसैको उपज हो ।

विश्वका विकसितदेखि अल्पविकसित देशहरुमा समेत सूचना क्रान्तिले आमूल परिवर्तन ल्याउँदैछ । मानिस पलपलमा सूचना, समाचार थाहा पाउन चाहन्छ । जसको माध्यम बनेको छ, अनलाइन । अनलाइनकै प्रभावका कारण विश्वका नामी पत्रिकाहरु बन्द हुन पुगेका छन् । सूचना र समाचारको दुनियाँमा अनलाइनको रजगज चलेको छ ।

पछिल्ला वर्ष नेपालले समेत सूचना प्रविधिमा फड्को मारेको छ । जसले गर्दा आमसञ्चारको कान्छो साधान अनलाइनको पनि प्रभाव बढ्दो छ । नेपालमा अनलाइन सञ्चारमाध्यमले अहम भूमिका निर्वाह गरेको छ । यसै सन्दर्भमा हामीले पश्चिम नेपालका २४ जिल्लालाई केन्द्रित गरेर पश्चिम नेपाल डट कम नामक अनलाइन प्रारम्भ गरेका छौं ।

यसले राजधानीदेखि सुदुरमा रहेको पश्चिम नेपाललाई विकासको मूल प्रवाहमा जोड्न सक्ने हाम्रो अपेक्षा रहिआएको छ । पश्चिम नेपालको जनजीवन, प्राकृतिक सम्पदा, कृषि, पर्यटन, उद्योग, कला संस्कृति, भेषभुषालाई विश्वभर चिनाउन मद्दत पुग्ने विश्वास छ । पश्चिम नेपाल सम्भावनाको अथाह स्रोत भएको भूगोल हो ।

त्यसैले अझ पनि यसले सञ्चारमाध्यममा उचित स्थान पाउन सकेको छैन् । यस्तो अवस्था पश्चिम नेपाल डटकमले पुलको रुपमा काम गर्नेछ । विभिन्न जिल्लामा रहेका हाम्रा प्रतिनिधिमार्फत हामीले यस क्षेत्रमै श्रेष्ठ अनलाइनका रुपमा आफूलाई उम्भाउने अवस्थामा पुग्नेछौं ।

विकास तथा चेतनाका दृष्टिले पछाडि परेको यस क्षेत्रलाई सम्वृद्धिको यात्रामा लम्काउने हाम्रो मुख्य जमर्को हुनेछ । आजदेखि हामी आफ्ना पाठक, भिजिटरसमक्ष यही मर्मलाई मूल गन्तव्य बनाउँदै यात्राको सुभारम्भ गरेका छौं । यस अवसरमा यहाहरु सबैको अमूल्य सुझाव, साथ र सहयोगको अपेक्षा गर्दछौं ।

(लेखक पश्चिम नेपाल डटकमका अथिति सम्पादक हुन् ।)