☰ open Loading... 24 November 2024|  

साख गुमाउँदै सामुदायिक विद्यालय
  | १८ भाद्र २०७३, शनिबार १८:३१

शिक्षकभन्दा विद्यार्थी संख्या कम

सल्यानका विद्यालयहरुमा शिक्षकभन्दा विद्यार्थी संख्या कम रहेको पाइएको छ । सामुदायिकतर्फको प्राथामिक तहमा विद्यार्थी संख्या निक्कै कम छ भने वोर्डिङ्ग स्कुलमा भने विद्यार्थी थेगी सक्नु छैन् ।

सामुदायिक विद्यालयको कक्षा ५ सम्म १५ जना विद्यार्थी रहेको भेटिएको छ भने नीजि विद्यालयमा ३ सयबढी विद्यार्थी छन् । उच्च मावि र मावि चलेका विद्यालयको प्राथमिक तहको पढाई लथालिङ्ग अवस्थामा छ ।

स्थायी शिक्षकहरु नै विद्यालयमा वढी अनुपस्थित हुँदा पढाईमा प्रत्यक्ष अवरोध भएको सम्वन्धीत विद्यालयका प्रधानाध्यापकहरुले वताउने गरेका छन् ।

कक्षा १ देखि १२ सञ्चाल भएको त्रिभुवन जनता उच्च मावि च्युरामा ५ कक्षा सम्म १८ जना विद्यार्थी नियमित पढन आउने गरेका छन् भने शिक्षकको दरवन्दी ४ जना रहेको छ ।

मुक्ति मावि हिले, कृष्ण मावि लेखसँग्रहीमा दरवन्दी संख्या ३ छ । तर विद्यार्थीको संख्या २० रहेको छ । प्रभावकर उमावि देवस्थलमा पनि विद्यार्थी संख्या ५० भन्दा कम रहेकोमा शिक्षकको दरवन्दी ५ रहेको छ । विद्यालयको प्राथामिक तहका बालबालिकाको विद्यार्थी संख्या निक्कै कम छ ।

माध्यमिक तहका प्राथामिक विद्यालयमा नै पढाई राम्रो छैन । केहि विद्यार्थी संख्या कम भएता पनि शिक्षकले राम्रोसँग नपढाईदिदाँ सामुदायिक विद्यालयप्रति अभिभावकको गुनासो गर्ने गरेको त्रिभुवन जनता उमावि च्युराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल विष्टले वताए ।

सरकारी शिक्षक आफु प्रति नै विश्वस्त नहुदाँ आफ्ना छोराछोरीलाई वोर्डिङ्ग स्कुल पढाउने गरेको अभिभावकहरुले बताउँने गरेका छन् । विद्यालयमा शिक्षकको लापरवाहिले सामुदायिक प्राथामिक तहको पठनपाठन राम्रा हुन नसकेको अध्यक्ष विष्टको भनाई छ ।

कृष्ण प्रावि खहरेखोलामा नियमित पढन आउने विद्यार्थीको संख्या २० भन्दा कम छ शिक्षक दरवन्दी तीन रहेको विद्यालय स्रोतले जानकारी दिएको छ । जनता प्रावि वस्नेउरामा विद्यार्थी संख्या ४९, गंगा प्रावि अम्रामा विद्यार्थी संख्या १६, जनता प्रावि मैनेनी, शैक्षिक जनचेतना माल्पे, जनता प्रावि रोकायगाउ, बाललिला प्रावि देउली, प्रावि घाटगाउ लगायतका प्राथामिक तहका विद्यालयमा विद्यार्थी सख्याभन्दा शिक्षकको दरवन्दी छ । त्रिभुवन जनता उमावि च्युराको कक्षा ३ मा जम्मा ३ जना विद्यार्थी भएकोमा लङ्गग्रिन वोर्डिङ्ग स्कुल सल्लीवजार सल्यानको कक्षा ३ मा ४६ जना विद्यार्थी अध्ययनरत छन् ।

सरकारी प्रति अभिभावको चासो नहुनु, शिक्षकले नपढाउने राजनीति हावी हुनु र आफ्नो विश्वास आफैसँग नहुनुले सामुदायिक विद्यालयको पढाई खस्कीदो अवस्थामा पुगेको प्रभाकर उमावि देवस्थलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान वुढा वताउँछन् ।

नीजि स्कुलहरुका शिक्षकभन्दा सरकारी विद्यालयका शिक्षक सक्षम योग्य छन् तर विद्यार्थी कमजोर हुनुले यहाँका अभिभावक सवै दोष जति सरकारी स्कुलका शिक्षक माथि थुपार्नु गलत भएको दुखेसो पोखे ।