☰ open Loading... 18 April 2024|  

नलसिंहगाड आयोजनाको डीपीआर निर्माणमा तीव्रता
  | २६ भाद्र २०७३, आईतवार १०:५४

जाजरकोटमा रहको नलसिंहगाड जलविद्युत् आयोजना निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार पार्ने काम तीव्र पारिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन पूरा भएपछि डीपीआरको काम तीव्र पारिएको हो । आयोजनाका अनुसार अबको ३० महीनाभित्र आयोजनाको डीपीआरको काम पूरा हुनेछ ।

आयोजनाले डीपीआर निर्माणका लागि अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्ट्रेलिया, एमडब्ल्यूएच अमेरिका र उदय कन्सल्ट नेपाल जेभीसँग सम्झौता भएको बताएको छ । तोकिएको समयभित्र डीपीआरको काम पूरा नभए थप ६ महीना समय दिइने आयोजनाका डिभिजनल इञ्जिनीयर नरेशसिंह भण्डारीले बताए ।

nalghad

डीपीआरअन्तर्गत जलमापन आँकलन, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटोमाइजेशन, फिल्ड सर्भेलगायत सम्भाव्यता अध्ययनको काम हुने उनले जानकारी दिए । छानिएको परामर्शदाताले नै आयोजनाको सम्भाव्यता अध्ययनलाई परिमार्जन गरी विद्युत् उत्पादन तथा प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य गर्नेसमेत उनले बताए ।

सो आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय १० मेगावाट रहेको छ । ‘डीपीआर निर्माणका लागि रू। १ अर्ब ११ करोडको लागत एष्टिमेट थियो,’ उनले भने, ‘तर, परामर्शदाताले ९४ करोडमा नै कामको जिम्मा लिएका छन् ।’

आयोजनाको डीपीआरअघि नै रग्दा गाविसमा रहेको ताँसुगाडबाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको पहँुचमार्ग जोड्ने सडक र आयोजनाको आवासगृह निर्माणको काम अहिले तीव्र गतिमा अघि बढेको भण्डारीले जानकारी दिए ।

उनले लहँ–६, कालिमाटीदेखि सक्ला गाविस–१, लैखमको अधेरी खोलासम्मको १० दशमलव ८ किलोमिटर पहुँचमार्ग निर्माणको काम अघि बढेको बताए । पूर्वाधारको प्रारम्भिक कार्यका लागि रू। २२ करोड खर्च गरिनेछ ।

साइट इञ्चार्ज हरिबहादुर ओलीले खगेनकोट १ दल्लीमा रू। ५ करोड ५० लाखको लागतका २ ओटा आवास भवन निर्माणको काम शुरू भएको बताए ।

उनले यसअघि कालिमाटी, गेरेनी चिमेरे पानीसम्मको ४ किलोमिटर सडक निर्माण कार्य पूरा भइसकेको जानकारी पनि दिए । उनका अनुसार हाल सडकका विभिन्न स्थानमा माटो काट्ने, टेवा पर्खाल बनाउने र कडा चट्टानमा ब्लाष्टिङ गर्ने काम भइरहेको छ ।

पहिचान तथा सम्भाव्यता अध्ययन शुरू भएको १५ वर्षपछि आयोजनाको डीपीआर तयार हुन लागेपछि जाजरकोटवासी हर्षित भएका छन् । यो आयोजना वातावरणमैत्री, कम डुबान क्षेत्र, जलाशयको दिगो आयु, खेतीयोग्य जमीनको न्यून क्षति, कम विस्थापन र भौगर्भिक अवस्था मजबूत भएका कारण पनि उपयुक्त मानिएको छ । आयोजना निर्माणको क्रममा ६ हजार रोपनी जमीन र १ सय ५० घरपरिवारका ८ सय स्थानीय बासिन्दा प्रभावित हुने आयोजनाको भनाइ छ ।

प्रभावित क्षेत्रका बासिन्दाले नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न माग गरेका छन् । स्थानीयले नलसिंहगाड सरोकार समिति नै गठन गरी विज्ञसहितको सरसल्लाह तथा सुझावमा राष्ट्रिय गौरवको आयोजनामा घोषणा गर्न माग गरेका हुन् ।

हालसम्म निर्माण भएका जलविद्युत् आयोजनामध्ये राम्रो र सस्तो दरमा निर्माण हुने लागेकाले पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरिनुपर्ने स्थानीयको भनाइ छ ।

४ सय १० मेगावाट विद्युत् उत्पादन हुने भनिए पनि यसबाट १ हजार मेगावाट उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन् । सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले नरसिंहगाडलाई सरकारले नै खासै चासो नदिएका कारण यसको महत्त्व कम भएको बताए ।

उनले जाजरकोटको भविष्यसँग जोडिएको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेर तोकिएकै समयमा निर्माण सम्पन्न गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

अहिले प्रभावित क्षेत्रमा स्थानीयको ७ सय ४२ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण कार्यक्रम भइरहेको छ । आयोजनाका अनुसार मुआव्जा लिन बाँकी रहेकालाई पनि छिट्टै वितरण गरिनेछ । २०७८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरू भएको आयोजनाको लागत १ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।