☰ open Loading... 25 December 2024|  

व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल
  | ३० भाद्र २०७३, बिहीबार १६:४९

असोज १ गतेबाट अस्पताल विस्तारित सेवा शुरु हुँदै

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउन नयाँ सेवा सञ्चालन हुने भएको छ । आगामी असोज १ गतेबाट सेवाग्राहीको चाप बढेपछि अस्पताल विस्तारित सेवाहरु सञ्चालन गर्न लागेको हो ।

अस्पताल समयभन्दा पछिको समयमा पनि सेवा दिने उदेश्यले अस्पताल विस्तारित सेवा (इएचएस) शुरु गर्न लागेको क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले जानकारी दिए ।

नयाँ सेवा सञ्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा डा. खड्काले अस्पताल सयमपछिसम्म थप शुल्कमा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन यो सेवा सञ्चालन हुन लागेको उल्लेख गरे ।

अस्पताल समय विहान १० देखि ३ बजेसम्म मात्रै ओपिडी सेवा पाउँदै आएका सेवाग्राहीले ३ बजेपछि पनि अस्पतालबाट सेवा पाउने छन् । अस्पतालले यस अघि इमरजेन्सी विरामी बाहेक ओपिडी सेवा दिउसो ३ बजेसम्म मात्रै दिँदै आएको थियो ।

hospita-dambar
अस्पतालका आगामी योजना र हालसम्म गरेको प्रगती बारे जानकारी दिँदै अस्पतालका निमित्त मेसु डा. डम्बर खड्का । तस्वीर : सुशील

तर आगामी असोजबाट विरामीको चापका आधारमा साँझसम्म यो सेवा पाउने खड्काको भनाई छ । ‘यो अतिरिक्त सयम हो, सेवा शुल्क चार्जमा केही प्रतिशत बढी रकम लाग्छ ।’ निमित्त मेसु डा. खड्काले भने,–‘अस्पताल स्थापना भएको झण्डै १२ वषैपछि यो सेवा शुभारम्भ गर्दैछौं ।’

विस्तारित अतिरिक्त सेवामा ओपिडी, ल्याब, एक्सरे र अप्रेशन सेवा छन् । अस्पतालले असोजबाट नै बाँकी ल्याव र एक्सरे सेवा पनि सञ्चालन गर्नेछ ।

ल्याबमा ५० प्रतिशत र अप्रेशनमा शत प्रतिशत शुल्क लाग्नेछ । ल्याव र अप्रेशन सेवा क्षेत्रीय अस्पतालमा नहुँदा नीजि क्लिनिकमा विरामीहरु धाउनु पर्ने बाध्यता थियो ।

‘अस्पतालको सेवालाई प्रभावकारी बनाउन र अस्पतालप्रतिको विश्वास दिलाउन सेवाग्राहीलाई यी सेवा थप्न लगेका हौं ।’ खड्काले थपे,–‘यस क्षेत्रका विपन्न र सीमान्तकृत समुदायका व्यक्तिको पहुँच पु¥याउन नयाँ–नयाँ योजना सञ्चालन गर्दैछौं ।’

हिंसा पीडितलाई निःशुल्क सेवा

असोज १ गतेबाट नै क्षेत्रीय अस्पतालले घरेलु हिंसामा परेका महिलाहरुले स्वास्थ्य परिक्षण गरेका निःशुल्क सेवा पाउने छन् । बलात्कार, घरेलु हिंसामा परेका महिलाहरुलाई लाग्दै आएको पुरै शुल्क मिनाह हुने अस्पतालको भनाई छ ।अस्पतालमा सेवा लिन आउने पीडित महिलाहरुले अवदेखि अस्पताल शुल्क नलिने खड्काले जानकारी दिए ।

सवाँ सात करोडको योजना माग

क्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न बनाउन अस्पताल विकास समिति र अस्पताल प्रशासनलले नेपाल सरकारसंग सवाँ सात करोडको योजना माग गरेको छ ।

अस्पतालका लागि अत्यावश्यक अक्सिजन प्लान्ट, पाइपलाइन विस्तार गर्न, सीटी स्क्यान, आइसीयु लगायतका सेवा थप्न बजेट माग गरेको खड्काले जानकारी दिए ।

तर सरकारले तत्कालै बजेट नदिए अस्पताल व्यवस्थापन विकास समिति र प्रशासनले आफ्नै लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने अध्यक्ष खम्बराज थानीले जानकारी दिए ।

यो अत्यावश्यक सेवा भएको बताउँदै थानीले सरकारले नगरे आफूहरु सवै मिलेर स्थापना गरेरै छाड्ने उद्घोष गरे । ‘अस्पतालको विकास गरेर सेवाग्राहीलाई प्रभावकारी सुविधा दिन हामी अघि सरेका हौं ।’ थानीले भने,–‘सरकार क्षेत्रीय अस्पतालको माग प्रति गम्भीर नभए आफै काम गरेर देखाउने प्रतिवद्धता जनाए ।’

भौतिक संरचना भएर मात्रै हुँदैन, डाक्टर हुनु प¥यो भन्दै अध्यक्ष थानीले सवै वस्तु भए मात्र प्रभावकारी सेवा दिन सकिने उल्लेख गरे । दरवन्दीमा तीन जना डाक्टर भएपनि हाल अस्पतालमा २२ जना डाक्टर मार्फत सेवा सुविधान दिइरहेको उनले जानकारी दिए ।

भौतिक संरचनासंगै डाक्टरको व्यवस्थापन गर्नमासमितिले कुनै कसर बाँकी नराखेको समिति सदस्य पूर्णप्रसाद पौडेलले बताए । उनले शुरुमा अस्पताल छिर्दा र हालको अस्पतालमा धेरै सुधार भएको उल्लेख गरे ।

तर अव पुग्यो भन्दै समिति मौन नरहेको बताएका पौडेलले अझै अस्पतालको विकासका लागि आफूहरु कटिवद्ध रहेको बताए । अस्पताललाई अझै आधुनिक र विकसित बनाउन विभिन्न मागसहितको फायल स्वास्थ्य मन्त्रालयमा पठाएको उनले जानकारी दिए ।

अस्पतालमा विरामीको चाप बढ्यो

क्षेत्रीय अस्पतालमा पछिल्ला वर्ष सेवा लिने विरामीहरुको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७१।७२ मा ओपीडीतर्फ ४६ हजार ३५० जनाले सेवा लिएका छन् ।

यस्तै, इमरजेन्सीतर्फ ४ हजार ५६८, इनडोरमा ८ हजार ७६, सुत्केरी सेवा ३ हजार १ सय ४० ले लिएका छन् । तर मुख्य अप्रेशन गर्ने विरामीको संख्या १ हजार ६४ छ ।

यसैगरी आर्थिक वर्ष २०७२।०७३ मा ओपीडीमा ४८ हजार ६८ जनाले सेवा लिएका छन् । इमरजेन्सीमा ५ हजार १ सय १२, इनडोरमा ८ हजार ८१३, सुत्केरी सेवा लिने ३ हजार १८३ जना छन् । गत वर्षमा १ हजार १ सय ९१ जनाले मुख्य अप्रेशन सेवा लिएको अस्पतालले जानकारी दिएको छ

अस्पतालमा आउने ४६ प्रतिशत विरामीले वेड भर्ना हुने गरेका छन् । तर क्षेत्रीय अस्पताल पुग्ने ९८ प्रतिशत विरामी निको भएर घर फर्कने र ०.१७ प्रतिशत विरामीको मृत्यु हुने गरेको अस्पतालले जानकारी दिएको छ ।

अप्रेशन गरेर आमा बन्ने धेरै

क्षेत्रीय अस्पतालमा पछिल्ला वर्ष अप्रेशन गरेर आमा बन्ने महिलाहरुको संख्यामा वृद्धि भएको छ । दुई वर्षको तथ्याङ्कलाई नियाल्ने हो भने गत वर्षमा ५१ जना महिलाले अप्रेशनबाट शिशुलाई जन्म दिएका छन् ।

आर्थिक वर्ष २०७१।०७२ मा अप्रेशनबाट बच्चा जन्माउने महिलाको संख्या ५ सय ७३ छ । तर गत आर्थिक वर्षमा अप्रेशनबाट बच्चा जन्माउने महिलाको संख्या ५१ जना बढेर ६ सय २४ पुगेको छ ।

आगामी असोजबाट नै अस्पतालले सुत्केरी हुन आउने महिलाको ईच्छा अनुसार अप्रेशन वा सामान्य प्रशुतीबाट शिशु जन्माउने सेवा दिने जनाएको छ ।

‘अधिकाँशको महिलाहरु अप्रेशनबाट नै शिशु जन्माउनु चाहानु हुन्छ ।’ डा. खड्काले भने,–‘अवदेखि अप्रेशन वा सामान्य प्रक्रियाबाट शिशु जन्माउने दुवै सेवा प्रभावकारी रुपमा दिनेछौं ।’