☰ open Loading... 19 September 2024|  

विद्युत सुचारु भएको दुई महिनामै बन्द
  | २ आश्विन २०७३, आईतवार १८:०१

प्राधिकरण प्रमुखले जानी जानी विद्युत काटेको सेवाग्राहीको आरोप

विद्यतु अवरुद्ध भएको दुई वर्षपछि सञ्चालन आएको पोतमारा साना जलविद्युत आयोजना फेरी बन्द भएको छ । पावर हाउसमा रहेको विद्युत हिटरमा खरावी आएपछि एक्काशी भदौ ३० गतेदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।

विद्युत अवरुद्ध भएपछि सञ्चालन गर्नमा प्राधिकरणले कुनै चासो नदिएको आरोप सेवाग्राहीको छ । सार्वजनिक सूचना जारी नगरेर विद्युत सेवा अवरुद्ध गर्नु प्राधिकरणको लापरवाही भएको सेवाग्राहीले बताएका छन् ।

२०७० असार २ गतेको बाढीले कालिकोटको एक मात्र विद्युत सेवा बन्द भएको थियो । सेवा अवरुद्ध भएको करिव २ वर्ष पछि २०७२ साउनमा सञ्चालनमा आएको थियो । तर सोही वर्ष असोज १८ गते विद्युत गृहको २१ मिटर नहर भत्किदा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

विद्युत प्राधिकरण शाखा कालीकोटले विद्युत नहरको अवलोकन गरी त्यसको रिपोर्ट मन्त्रालयमा पठाएको थियो । सरकारले विनियोजन गरेको बजेटबाट टेन्डर आह्वान गरेर उपभोक्ता समितिमार्फत काम गरेपछि २०७३ असारदेखि सुचारु भएको थियो ।

विद्युत प्राधिकरण वितरण इकाइ कालीकोटका प्रमुख बुद्धीनारायण चौधरीले विद्युत अवरुद्ध हुनुको दोष कालीकोटका नागरिकलाई दिएका छन् । विद्युत सेवा अवरुद्ध हुनुको कारण कालीकोटका मानिसहरु खराव भएकाले विद्युत बिग्रीएको प्रतिक्रिया दिए । यसबारेमा उनले थप केही नबताउने बताए ।

तर सेवाग्राहीले भने विग्रेको विद्युतको नहर मर्मतका लागि उपभोक्ता समितिलाई दिएको र आफुले टेन्डरबाट विद्युत नहरको मर्मत गर्न नपाएको झोकमा समय समयमा विद्युत विगार्ने गरेको आरोप लगाएका छन् ।