पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडि छनौट प्रतियोगिताको तयारी पूरा भएको छ । असोज ७ गतेदेखि १४ गतेसम्म वीरेन्द्रनगरमा हुने छनौट प्रतियोगिताको सबै तयारी पूरा भइसकेको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जानकारी दिएको छ ।
छनौट प्रतियोगितामा यस पटक १ हजार १ सय ६५ जनाले सहभागिता जनाउन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । ८ सय ११ जना पुरुष र ३ सय ५४ जना महिला खेलाडीहरुले प्रतियोगितामा सहभागिताका लागि सम्पर्कमा आएको उनले जनाए ।
जिल्लाबाट छनौटमा परेका खेलाडिहरु क्षेत्रीय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन । क्षेत्रीय छनौट प्रतियोगिताबाट छनौट भएपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष गिरीले जानकारी दिए ।
विभिन्न १७ वटा विद्याका २ सय ५३ जना खेलाडीले जिल्लाबाट छनौट भएर क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । जिल्लास्तरीय छनौटपछि क्षेत्रीय छनौट प्रतियोगिता आयोजना गरिनेछ । केही खेलका क्षेत्रीय प्रतियोगिता सुर्खेतमा पनि आयोजना हुने जनाइएको छ ।
कुस्ती र उसुको क्षेत्रीय छनौट प्रतियोगिता सुर्खेतमा आयोजना हुने करिब निश्चितजस्तै भइसकेको जानकारी दिदैं अध्यक्ष गिरीले अन्य खेलहरु पनि सुर्खेतमा आयोजना गर्न पहल भइरहेको जानकारी दिए ।