☰ open Loading... 21 May 2024|  

दैलेख घुम्ने निम्तो
  | ८ आश्विन २०७३, शनिबार ०९:४९

पञ्चकोशी पेट्रोल खानी घुम्ने भए दैलेख आउनु,
यो निश्चललाई आफ्नै ठानी घुम्ने भए दैलेख आउनु ।

acharya

कुइयाँको ताल, मदन ताल, पञ्चदेवल र कोतगढी,
घुमाइ दिउँला मेरी रानी घुम्ने भए दैलेख आउनु ।

पाथरनाउली, दुल्लु दरवार, किर्तिखम्बा र बाँडगँगा,
मनमोहक छन् कान्छी नानी घुम्ने भए दैलेख आउनु ।

जाउँला पूज्न नारायणथान, बेलासपूर र गणेश मन्दिर,
लौ न मेरो कुरा मानि घुम्ने भए दैलेख आउनु ।

नौमुलेको माछा खाई द्धारीको झरना हेर्न,
सगैँ ल्याई बहिनी सानी घुम्ने भए दैलेख आउनु ।

कति खान्छ्यौ त्यो तराईको भतभत पोल्ने तातो पानी ?
खाइकन चिसो पानी घुम्ने भए दैलेख आउनु ।

दैलेखको नासो ति’मलाई सुन्तला र साबर जुत्ता,
झोलाबाट दिउँला तानी घुम्ने भए दैलेख आउनु ।

लेखक दैलेख भुर्ती गाविसका स्थायीबासी हुन् ।