राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुर्खेतमा सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सहयोग, विज्ञान तथा प्रविधि संकाय मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोग तथा वैज्ञानिक समाज नेपालको सह–आयोजनामा शनिबारदेखि सुर्खेतमा शुरु भएको हो ।
नेपालभरका विभिन्न वैज्ञानिकहरु सहभागी सम्मेलनको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्रकुमार कोइरालाले उद्घाटन गरेका छन् । विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरु समेत गरी करिव एकसय वैज्ञानिक र प्राविधिकहरुको सम्मेलनमा सहभागिता छ ।
उनीहरुले विज्ञान प्रविधिको क्षेत्रका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनका क्रममा ३ वटा प्राविधिक सत्र संचालन गरेर ४६ वटा वैज्ञानिक र प्राविधिकले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञान तथा प्रविधि संकायका डीन देब बहादुर खड्काले जानकारी दिए ।
उनले प्राविधिक सत्रहरु विज्ञानका विभिन्न क्षेत्र सम्बन्धी प्रविधिमा केन्द्रीत हुने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अव हरेक वर्षको अन्तरालमा सम्मेलन गर्दै जाने बताइएको छ ।