☰ open Loading... 19 September 2024|  

मंसिरसम्म आउने सुर्खेत उपत्यकामा खरी-बोरी खोलाको पानी
  | ९ आश्विन २०७३, आईतवार ०८:४२

सुर्खेतको बहुचर्चित खरी खोला र बोरी खोला आयोजनाको पानी उपत्यका आउन अझै केही महिना लाग्ने भएको छ । गत असार मसान्तमा उपत्यकाबासीको धारामा यो आयोजनाको पानी खसाल्ने दावी गरिएको थियो ।

तर आयोजनाको महाुनमा पानीको सतह बढेका कारण निर्माण कार्यमा ढिलाई हुँदा पूर्वनिर्धारित मितिमा पानी खसाल्न नसकिएको खवर साझा विसौनी दैनिकले छापेको छ ।

borikhola

सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आइरहेको झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मुहानमा पानीको सतह बढेका कारण इनटेक निर्माणमा बाधा भएको जनाइएको छ ।

जसका कारण पूर्व निर्धारित मितिमा उपत्यकामा यो आयोजनाको पानी खसाल्ने तालिका प्रभवित भएको संस्थाको भनाई छ ।

अहिले आयोजना स्थलमा पाइप विच्छाउने काम तिव्र गतिमा भैरहेको र मुहानमा पानीको सतह कम हुँदै गएकाले इनटेक निर्माणको काम शुरु गरिने भन्दै संस्थाले आगामी मंसिरसम्म यो आयोजनाको पानी उपत्यकाबासीले प्रयोग गर्न सक्ने दावी गरेको हो ।

‘आयोजनाको काम धमाधम भइरहेको छ, यहि गतिमा काम भए आउँदो मंसिरभित्र यो आयोजनाको पानी उपत्यकामा रहेका धारामा आउनेछ ।’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने,–‘हामीले असारमै पानी खसाल्ने भनेका थियौं, तर मुहानमा पानीको सतह बढेकाले इनटेक निर्माण गर्न सम्भव भएन । पानीको सतह घट्ने बित्तिकै ईनटेकको काम शुरु हुन्छ, १० देखि १२ दिनमा त्यो काम सकिन्छ ।’

यो आयोजनाको लागि सरकारले १२ करोड तीन लाख रुपैयाँ अनुदान उपलव्ध गराएको छ भने उपभोक्ताको पाँच करोड १५ लाख रुपैयाँ लगानी गरेको छ ।

संस्थाका अनुसार १७ करोड १८ लाख रुपैयाँमा यो आयोजनाको लगत अनुमान गरिएको छ । यो आयोजना सम्पन्न भए प्रति सेकेण्ड ३५ लिटरका दरले उपत्यकामा थप पानीको आपूर्ती हुनेछ ।

यो आयोजनाको काम सम्पन्न भएमा उपत्यकामा रहेका ३९ हजार नौं सय ३६ घरधुरी र करिव एकलाख ९६ हजार जनसंख्या लाभान्वित हुनेछन् ।