☰ open Loading... 29 March 2024|  

यात्रुको भेषमा राजमार्गमा प्रहरी परिचालन
  | १६ आश्विन २०७३, आईतवार १०:०३

झण्डै दुई महिनादेखि खाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा मोहन आचार्य आएका छन् । तीन ठुला चाडपर्व नजिकीदै गर्दा नयाँ प्रहरी प्रमुख (एसपी) पाएको सुर्खेत प्रहरीले चाड पर्व लक्षित नयाँ योजनाहरु पनि सार्वजनिक गरेको छ ।

गत विहीबारदेखि सुर्खेत प्रहरी प्रमुखको जिम्मेवारी समालेका प्रहरी उपरिक्षक (एसपी) आचार्यले दशैँ लगायतका चाडपर्वमा अपराधिक गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

आईतबार पत्रकारहरुको भेटमा एसपी आचार्यले चाडपर्वमा कुनैपनि अपराधिक गतिविधि हुन नदिन प्रहरी जनशक्ति थप गरिएको बताए ।

चार्डपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिँदै सुर्खेत प्रहरी प्रमुख (एसपी) मोहन आचार्य ।
चार्डपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिँदै सुर्खेत प्रहरी प्रमुख (एसपी) मोहन आचार्य ।

एसपी आचार्यका अनुसार २४ सैं घण्टा लुटपाट रोक्न प्रहरी परिचालन हुनेछन् । मुख्यगरी प्रहरीको यो टोली रत्नराजमार्गको सुर्खेत–बबई, सुर्खेत–जाजरकोट, सुर्खेत–दैलेख र सुर्खेत–जुम्ला सडक खण्डमा टोली खटिनेछ ।

राजमार्गमा खटिने प्रहरी यात्रुको भेषमा परिचालन हुने एसपी आचार्यको भनाई छ । ‘चाडपर्वमा बढी चोरी र लुटपाटका घटना हुने गर्छन् ।’ एसपी आचार्यले भने,–‘यस्ता गतिविधि रोक्न सादा पोशाक र पोशाकसहितका प्रहरी खटाउने छु ।’

कुनै पनि शंकास्पद गतिविधि भएमा तत्काल प्रहरीलाई खवर गर्न पनि एसपी आचार्यले नागरिकलाई आग्रह गरेका छन् । उनले अन्य सुरक्षा योजनामा वीरेन्द्रनगरका मुख्य चौक, बजार क्षेत्र, बसपार्क र प्रहरी विटमा पनि प्रहरीको संख्या बढाउने बताए ।

के छन् चाडपर्व सम्वन्धि नयाँ योजना ? भिडियोमा हेर्नुहोस् । 

जुवातास, घरेलु मदिरा लगायतका गतिविधि रोक्न समेत प्रहरी परिचालन गरिएको आचार्यको भनाई छ । ‘ढुक्कले चाडपर्व मनाउनुहोस् ।’ एसपी आचार्यले थपे,–‘चाडपर्वको आडमा भड्कीलो र समाजमा अपाच्य हुने कार्य नगर्न नागरिकलाई आग्रह गर्दछु ।’

चाडपर्वका नाममा तडकभडक गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने उद्घोष आचार्यको छ । आफ्नो कार्यकालमा सुर्खेतमा हुने आत्महत्या, लागु औषध, बालविवाह लगायतका घटना रोक्नमा सवै पक्षसंग सहकार्य गरेर अगाडी बढ्ने अठोड एसपी आचार्यको छ ।