☰ open Loading... 7 September 2024|  

बैतडी काठमाडौं बस सेवा सुरु
  | २१ आश्विन २०७३, शुक्रबार १७:५५

महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी काठमाण्डौं एसी बस सेवा सुरु गरेको छ । यात्रुहरुको मागलाई ध्यानमा राख्दै र नेपालीको मुख्य चाड दसैं तिहारलाई मध्यनजर गरी बैतडी काठमाडौँ एसी बस सञ्चालनमा ल्याईएको हो ।

ac-bus
तस्वीर सौजन्य : सीधा रेखा

सुबिधासम्पन्न बस भएकोले आरामदायी यात्रा हुनुका साथै एसी जडीत, फ्री वाईफाई, खानाको व्यवस्था, पानीको व्यवस्था, पत्रिकाको व्यस्था समेत उपलब्ध रहेको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव बिष्णु कडेंलले जानकारी दिए ।

यसअघि सामान्य गाडी सञ्चालनमा रहेको भएपनि लामो यात्रामा उक्त गाडीमा यात्रुलाई समस्या हुने भएकोले एसी गाडी सञ्चालनमा ल्याईएको महासचिव कडेंलको भनाई छ । लामो रुट र पहाडी यात्रामा यात्रुको सजिलोको लागी एसी बस सञ्चालनमा ल्याएका उनले बताए ।

बैतडीवाट दैनिक बिहान ७ बजे गोठलापानीवाट र काठमाडौंबाट बिहान ११ बजे गंगबु बसपार्कवाट छुट्ने समितिले जनाएको छ । बैतडीवाट काठमाण्डौंको भाडा प्रतियात्रु रु. २ हजार ४ सय ३० तोकिएको छ । हाललाई ६ वटा एसी बस मात्रै सञ्चालनमा ल्याईएको भएपनि छिट्टै थप ६ वटा बस आउने क्रममा रहेकाले चाडै सञ्चालनमा आउने कंडेलको भनाई छ ।

१२ वटा गाडी आईसकेपछी औपचारिक कार्यक्रम गरेर बस सञ्चालन गरिने समितिले बतायो । यता यात्रुहरुको मागलाई मध्यनजर गर्दै बैतडी महेन्द्रनगर बस सेवा पहिलो पटक ल्याईएको छ । बैतडी र महेन्द्रनगरवाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ । बैतडीवाट महेन्द्रनगरको भाडादर प्रतियात्रु रु. ६ सय ४५ कायम गरिएको छ ।