☰ open Loading... 19 September 2024|  

मध्यपश्चिममा कस्तो रह्यो दशैँ ?
  | २६ आश्विन २०७३, बुधबार १०:३३

नेपालीहरुको महान पर्व दशैँमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सामान्य घटना बाहेक ठुला घटनाहरु नभएको प्रहरीले जनाएको छ । दशैँ सकिन अझै चार दिन बाँकी रहेपनि मुख्य दिनसम्म सामान्य घटनाहरु भएपनि यस क्षेत्रमा ठुला घटनाहरु नभएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए । समग्रमा अन्य जिल्लाहरुमा विगत वर्ष जस्ता ठुला अपराधका घटना नभएको क्षेत्रीय प्रहरी कार्यालले जनाएको छ ।

दुर्घटनामा ४ घाईते

बर्दिया, दाङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । बर्दियाको बाँसगढी नपरपालिकाको मोतिपुरमा भे ३ प ८७४९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा सोही ठाउँका २६ वर्षिय राजेन्द्र थारु घाईते भएका छन् ।

यस्तै, मैनापोखर गाविसमा भे ३ प १०३६ नम्बरको मेटरसाईकलले साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही ठाउँका २० वर्षिय अन्ज विक गम्भीर घाईते भएको डिएसपी सिंहले बताए । उनका अनुसार घाईते अन्जुको नेपालगञ्जमा उपचार भैरहेको छ ।

यता, रत्न राजमार्गको पैसठ्ठीमा बसले भे २ प १३९५ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा लेखपुराजुलका सुनिल कठायत घाईते भएका छन् । दाङको नारायणपुरमा बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल सवार विनकान्त पाण्डे घाईतेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको भनाई छ ।

सल्यान र बर्दियामा खुकुरी प्रहार

सल्यान र बर्दियामा भएको खुकुरी प्रहारबाट २ जना घाईते भएका छन् । सल्यानको बडागाउँ गाविस ३ का २४ वर्षिय प्रताप विकलाई सोही ठाउँ बस्ने कर्णबहादुर कठायत र गोविन्द विसीले खुकुरी प्रहार गर्दा घाईते भएको डिएसपी सिंहले जानकारी दिए ।

सामान्य विवादमा खुकुरी प्रहार गरेको खुलेपनि कठायत र विसी फरार रहेको प्रहरीको भनाई छ । उनीहरुको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।

यता, बर्दियाको शिवपुरमा खुकुरी प्रहारबाट एक युवक घाईते भएका छन । शिवपुर २ लठुवामोतीपुरका १८ वर्षिय पुरन बुढा खुकुरी प्रहारबाट घाईते भएका हुन ।

खुकरी प्रहार गर्ने शिवपुर १ मोतीपुरका १९ वर्षिय बिकास मिजारलाई ईलाका प्रहरी कार्यालय भुरीगाउँले नियन्त्रणमा लिएको छ । हिँज दिउसो पिङ्ग खेल्ने क्रममा सामान्य बिबाद भएपछी मिजारले मंगलवार राती बुढालाई खुकुरी प्रहार गरेको बताएका छन् ।

खुकुरी प्रहारबाट घाईते भएका बुढाको टाउको र हात काटीएको छ । स्थानिय क्लिनिकमा प्राथमिक उपचारपछी नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार कोहलपुर नगरपलिका ५ बस्ने नरेश शाही र कृष्ण शाहीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा दुई जना गम्भीर घाईते भएका छन् ।

सोही ठाउँ बस्ने वीर बहादुर वली र उनका आमा ईन्द्राकुमारी वलीलाई शाहीद्धयले कुट्दा उनीहरु गम्भीर घाईते भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले नरेश शाहीलाई पक्राउ गरेको छ । तर उनका भाई कृष्ण भने फरार रहेको क्षेत्रीय प्रहरी कार्यालयको भनाई छ ।