☰ open Loading... 23 December 2024|  

आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि विरामीलाई सास्ती
  | २९ आश्विन २०७३, शनिबार १३:४८

घरको भ¥याङबाट लडेर छोराको हात भाँचिए पछि उपचारका लागि यही साता जिल्ला अस्पताल कालीकोट पुगेकी रकू–२ लुसाकी सुनिता वम (सुवेदी) अस्पतालले छोरालाई भर्ना गर्न नमाने पछि अस्पतालबाट रुदै फर्किईन् ।

छोरालाई उपचारका लागि नेपालगन्ज लैजान खोज्दा दशैँको दिन सार्वजनिक यातायातका साधनहरु चलेका थिएनन् उनले अस्पतालकै एम्बुलेन्स लैजानका अस्पतालसंग गुहार गरिन् । तर डिजेल नभएको भन्दै एम्बुलेन्स जान नमाने पछि उनी अस्पताल परिसरमै भक्कानिईन् ।

hospital
कोहलपुरमा बसोबास गर्ने सुनिता दशैँको टिका थाप्न माइती घर आएकी थिईन । छोरा लडेर हाँत भाँचिएको पीडा त छँदै थियो अस्पतालले दशैँ विदा भन्दै छोरालाई अस्पतालमा भर्ना नगरेपछि उनको पीडा थपियो र अस्पतालप्रति आक्रोशित बन्दै उनले भनिन्, ‘दशैँ बिदामा अस्पताल समेत बन्द हुने यो कस्तो अस्पताल हो ? उसो भयो दशैँ तिहारमा विरामी परेकाहरुले उपचार नपाएर मर्नै पर्ने हो त ?’ उनको आक्रोशमा अस्पताल बाहिर जम्मा भएका अरु विरामी पनि साथ दिइरहेका थिए ।

अस्पतालमा रहेका कर्मचारीले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको सुचना देखाउदै छोरालाई भर्ना नगरि दिए पछि सुनिताले अस्पतालले इमरजेन्सीको परिभाषा कसरी लगाएको छ ? मेरो छोराको हात दुई ठाउँमा भाँचिएको शंका छ के यो इमरजेन्सी होइन ? अनि कस्तो लाई इमरजेन्सी मान्छ अस्पतालले ? उनको आक्रोश बढेपछि अस्पतालका कर्मचारीहरु हेरेको हे¥यै भए ।

अस्पतालबाट सास्ती पाउने सुनिताले मात्र होइनन् जिल्ला अस्पतालमा प्रभावकारी उपचार पाईएला भनेर २ दिन पैदल हिँडेर धौलागोहबाट श्रीमतीको उपचारका लागि जिल्ला अस्पताल पुगेका धनबहादुर भण्डारीले अस्पतालको लापरवाहीले विरामीले झन् सास्ती भोग्नु परेको दुखेसो गरे ।

१ महिना अघि गर्भवती श्रीमतीलाई सुत्केरी गराउन अस्पताल ल्याएका भण्डारीले बच्चालाई जिवित त पाउन सकेनन् तर अस्पतालको लापरवाहीका आमाको साल चुडिएर पटक पटक उपचार गराउन अस्पताल ल्याउनु परेको बताए ।

सुनिता र धनबहादुर त प्रतिनिधी पात्र मात्र हुन् । यस्तो पीडा कालीकोट जिल्ला अस्पतालमा उपचारका लागि आउने सबै विरामीले भोग्नु परेको छ । जिल्ला अस्पताल कालिकोटले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि विरामीहरुले उपचार नपाई सास्ती ब्यहोर्नु परेको हो ।

अस्पतालमा कार्यरत अधिकांश कर्मचारीहरु दशैँ विदामा घर गए पछि विरामीहरु मर्कामा परेका हुन् । जिल्ला अस्पतालले दशैँ तिहारको बेला आकस्मिक बाहेकका अन्य सेवा दिन नसक्ने भन्दै लिखित पत्रसहित निर्णय गरी जिल्ला स्वास्थ्य प्रमुख कौशल अलीसमेत घर विदामा गए पछि विरामीहरुले कि त स्थानीय मेडिकल धाउनु पर्ने कि त महङ्गो रकम तिरेर सुर्खेत नेपालगन्ज झर्नु पर्ने बाध्यता रहेको छ ।

दशैँको समयमा कालिकोट जिल्ला अस्पतालमा जम्मा एक जना डाक्टरसहित चार जना स्वास्थ्यकर्मीहरु मात्र छन् । उनीहरुले आकस्मिक बाहेकका अन्य सेवा बन्द भएको भन्दै आउने बिरामीलाई बाहिरबाट फर्काउने गरेको जिल्ला अस्पतालकै कर्मचारीहरु बताउँछन् । ‘विरामीलाई भए सिटामोल दिनु नभए फर्काइ दिनु भन्ने हाकिमको आदेश छ’ एक कर्मचारीले भने, ‘हामीले त जे भन्यो त्यही मान्ने हो ।’ उनले अस्पतालले गरेको निर्णय विरामीकोे हित विपरित भएको बताए ।

अस्पतालको सूचनाका बिषयमा अस्पतालकै कर्मचारीहरुलाई पनि चित्त बुझेको छैन । नाम नछाप्ने सर्तमा एक कर्मचारीले भने, ‘डाक्टरले जे मन लाग्यो त्यो गर्दा विरामीहरुले सास्ती भोग्नु परेको छ’ ल्यावको कर्मचारीले दशैँ विदामा बरु म घर जान्न ल्याव बन्द नगरौ भन्दा डाक्टर अलीले ‘बढी जान्ने भन्ने होइन’ भन्दै उल्टो थर्काए पछि हाम्रो के लाग्छ ?’

डाक्टर अलि भने कर्मचारी नभएका कारण अस्पतालमा कुनै समस्या नभएको दावी गर्छन् । ‘हामीले ओपिडिमा आउने विरामीलाई पनि इमरजेन्सीबाट नै उपचार गरिरहेका छौ’ उनले टेलिफोनमा भने, ‘दशैँको बेला इमरजेन्सीलाई पाँच शैँयाबाट ७ शैँया बनाएका छौ ।’ बिरामीलाई कुनै समस्या नभएको उनले दावी गरे । हात भाँचिएको बच्चाको भर्ना नभएको बिषयमा उनले तत्काल रिफर गरि उपचार गरिएको दावी गरे ।