कार्टुन काँडा हो, सँगै फुल पनि । कार्टुन, क्याक्टसको प्रतिबिम्ब हो जसको आङभरी काडा हुन्छ र मरुभुमिमा पनि जीवनको आशा जीवित राख्दछ ।
कुनै कुराको नक्कल गरी बनाइएको ब्यङ्ग्य र बिनोद मिश्रित चित्रलाई सामन्यतया कार्टुन भनिन्छ । यसको प्रयोग हिजोआज टेलिभिजन र वेभसाइटमा पनि हुन थालेको छ । कार्टुन मूलतः छापा पत्रकारिताकासँग सम्बन्धित छ । आज हामी कार्टुनको विश्व इतिहासका विविध पाटा केलाउने प्रयास गदैछौं ।
इटालियन शब्द cartone र डच शब्द karton कार्टोन बाट अंग्रेजी शब्द कार्टुन बनेको हो । कार्टोनको अर्थ कडा गह्रुँगो कागज वा सूचना पार्टी (pasteboard) हुन्छ । कागजको गुणको आधारमा यसमा कोरिएका चित्रहरुलाई कार्टोन भनियो । अर्को तर्फ, कार्टुनको जन्म क्यारिकेचरबाट भएको मानिन्छ । इटालिएन शब्द क्यारिकेचरको अर्थ केही हास्य ब्यङ्ग्य भन्ने हुन्छ । शुरुका दिनमा रेखाचित्रको माध्यमबाट कसैको प्रवृत्ति प्रति घोचपेच गर्नुलाई क्यारिकेचर भनिन्थ्यो । यसैको परिमार्जित रुपलाई क्रमशः कार्टुन भन्न थालियो ।
आजको दिनसम्म आइपुग्न कार्टुनकलाले थुप्रै घुम्ति पार गरेको छ । सन् १७८८ मा जन्मेका ब्यङ्ग्य र बिनोदका माहिर अंग्रेजी कवि लर्ड बाइरनको भनाइले कार्टुनको महत्व जनाउंछ । उनको भनाईले तात्कालिन पश्चिमा समाजमा हास्यब्यङ्ग्यको प्रवाभलाई बोध गराउँदछ – हास्यकला एकमात्र त्यस्तो हतियार हो जसलाई अग्रेजी वातावरणले खिया लगाउन सक्दैन ।
इजिप्टका प्राचिन पर्खाल वा फुलदानी वा भाँडाहरुमा कोरिएका हास्यचित्रहरुलाई कार्टुनकलाका प्रेरक मानिन्छ । विश्व प्रसिद्ध कलाकार लियो नार्दो दा भिन्सीले १५ औं सताब्दीको मध्यतिर बनाएका कार्टुन चित्रमा युद्धको कुरुप देख्न सकिन्छ ।
ब्यङ्ग्य चित्रको इतिहास कोट्याएर हेर्ने हो भने स्विस खेलको अर्को पाटोशिर्षकको काष्ठकला नै सम्भवतः सबैभन्दा पूरानो राजनीतिक ब्यङ्ग्य चित्र हो । दुखको कुरा यसका सजर्क आजसम्म पनि अज्ञात छन् । ५११ बर्ष अघि सन् १४९९ मा बनाइएको सो ब्यङ्ग्य चित्रमा राज्यसञ्चालकले खेललाई पनि स्वार्थसिद्धिको माध्यम बनाउछन् भन्ने सन्देश दिन खोजिएको छ ।
इरहाड सोएनले सन् १५२१ मा क्याथोलिक धर्मको आलोचना गर्दै धर्मसुधारको अभियान थालेका मार्टिन लुथरलाई दह्रो प्रहार गर्दै व्यङ्ग्यचित्र बनाएका थिए । सो व्यङ्ग्यचित्रमा राक्षसले १ जोडि सनही बजाउँदै गरेको देखिन्छ, र यसको तल पट्टी लुथरको मुहार देखाइएको छ । राक्षसको तालमा लागेर पवित्र धर्मलाई सुधारका नाममा कुरुप बनाउन खोजेको भन्दै लुथरलाइ ब्यङ्ग्य गरिएको छ । कतिपय विश्लेषकका अनुसार यो चित्रमा लुथरलाई ब्यङ्ग्य गरिएको छैन बरु क्याथोलिक चर्चका पादरीहरुको विकृत प्रवृत्तिलाई मार हानिएको छ ।
यसैगरि, चित्रकारहरुले समाजमा देखिएका संगति विसंगतिलाईे विभिन्न प्रतिकात्मक र रोमाञ्चक रेखाचित्रहरु कोर्दैं गए, जुन आधुनिक कार्टुनका लागि मार्गनिर्देशक् बने । सत्रौं सताब्धीको उत्तरार्धमा क्यारिकेचरका दुई हस्तिको इटालीमा जन्म भयोः करासी र पियर लियो घेजी । चित्रकलाबाटै जिविकोपार्जन गर्ने पहिलो चित्रकारको रुपमा उनीहरुलाई चिनिन्छ । उनीहरुबाट नै आधुनिक कार्टुनले आकार लिन थालेको मानिन्छ ।
विलियम होगार्थ पहिलो ब्रिटिस कलाकार हुन् जसले ब्यङ्ग्यको दायरा फराकिलो पारे । तत्कालिन समयमा सबैभन्दा धेरै ब्यङ्ग्यकला उत्पादन गर्ने जसपनि उनैलाई जान्छ । होगार्थका चित्रमा त्यस समयका सामाजिक विकृति र विसंगतिलाई तिखो ब्यङ्ग्य गरेको पाइन्छ । होगार्थले बेश्याको प्रगतिशिर्षकको ब्यङ्ग्य चित्रको श्रृखलामा एउटी गाउकी केटी शहर छिरे पछि धन कमाउनका लागि बेश्याबृत्तिमा लागेको देखाएका छन् । ब्रिटिस समाज बेश्यावृत्तिको जालोमा पर्दै गरेको समयमा सो ब्यङ्ग्य श्रृखंला निक्कै चर्चित रह्यो । त्यस्तै ब्यभिचारी ठूलाबडा र धनी ब्यक्तिलाई ब्यङ्ग्य गर्दै होगार्थले कामुक ब्यक्तिको प्रगति शिर्षकमा चित्रहरु तयार पारेका थिए । आवरणमा सभ्य देखिने तर सारमा यौन पिपासु भद्रभलाद्दमीका कारणनै बेलायतमा बेश्याबृत्ति मौलाएको बताइन्छ ।
होगार्थ का सफल अनुवाइका रुपमा टामस रोवाल्डसन र जेम्स् गीलरेलाई मानिन्छ । सन् १७५६ मा लण्डनमा जन्मेका रोवाल्डसनले विशेष गरी राजनीतिलाई तारो बनाए । विश्व चर्चित युद्ध कमाण्डर नेपोलिएन बोनापार्टलाई समेत उनले बाँकी राखेन्न । रोवाल्डसनका समकालिन सर्जक जेम्स् गिलरीले राजनीतिक ब्यङ्ग्यमा त कब्जा नै जमाएका थिए । शोषक वर्ग र राजनीतिकर्मीलाई चित्र मार्फत कुरी कुरी गर्नु त गिलरीको दैनिकी जस्तै थियो । राजा जर्ज तेश्रो र जर्ज चौंथोलाई गिलरीले मज्जैले गिजाउथे ।
कार्टुनको इतिहासमा मे ९, १७५४ भुल्नै नसकिने ऐतिहासिक दिन हो । अमेरिकी स्वतन्त्रता संग्रामका एक हस्थि वेञ्जामिन फ्रयाँक्लिनले सोही दिन बनाएको चित्र बास्तबमै एकताको प्रतिक बन्यो । यस चित्रमा विभिन्न राज्यमा टुक्रिएको र ब्रिटिस उपनिवेशको बन्धक बनेको अमेरिकालाई आठवटा टुक्रामा खण्डित सर्पसँग तुलना गरिएको छ । यसको क्याप्सनमा भनिएको छ: जुट या मर ! स्वतन्त्रता संग्रामको राप र ताप बढ्दै जाँदा हेर्दा साधरण तर अर्थका दृष्टिले असधारण सो चित्रको लोकप्रियता त्यसताका ब्यापक भयो । जुन आजसम्म पनि घटेको छैन । यसको प्रयोग अमेरिकी झण्डासँगै हुन थाल्यो । टाटुपनि बनाउन थालियो । लुगाफाटा, पैसा र पत्रिकाको माष्टहेडमा समेत यो चित्रको प्रयोग भयो ।
सन् १७९८ मा लिथोग्राफि प्रविधि आविश्कार भयो । प्रविधिको प्रयोग गर्न ब्यङ्ग्यकारहरु किन चुक्थे र ? लिथोग्राफिको प्रयोग गर्ने ब्यङ्ग्यकारमा फ्रान्सका होनरी डउमियरको नाम सबैभन्दा अगाडि आउँछ । सन् १८३२ मा राजा किङ लुइस फिलिपको कार्टुन चित्र बनाएका कारण डउमियर ६ महिना जेल बस्नुपर्यो ।
लिथोग्राफि अघिसम्म चित्रकला केही ब्यक्तिको सोख र भव्य भवनका सजावटको साधनमात्र थियो । प्रविधिको विकासले ब्यङ्ग्य चित्रको प्रभाव बढाइदियो । दरवारमा बस्नेदेखि घरबार नभएकाले सम्म ब्यङ्ग्य चित्रको रसस्वादन गर्न पाउने परिस्थिति बन्यो ।
वेलायतमा सन् १८२५,२६ मा नर्थन लुकिङ ग्लास नामक हास्य पत्रिका छापियो । विलियम हिथको सम्पादन र प्रकासनको यो पत्रिकालाई युरोपको पहिलो क्यारिकेचर म्याग्जिन मानिन्छ ।
सन् १८३० मा प्रकाशित हुन थालेको ला क्यारिकेचरले कार्टुनिष्ट चाल्र्स फिलिपोन लाई आधुनिक हसौली पत्रिकाको पिताको रुपमा स्थापित मात्र गराएन, कार्टुनको क्षेत्रमा बहार नै ल्याइदियो । उनले नै १८३२ मा अर्को हास्य पत्रिका ला चारीवारीको प्रकाशन थाले । फिलिपोन, डउमियर र अन्य चित्रकारहरु तत्कालिन शासक लुइस फिलिपप्रति निक्कै निर्दयी देखिए । फिलिपका एक एक कमजोरीको चियोचर्चो गरिरहे । डउमियरले राजा फिलिपलाई गार्गान्टुवा अर्थात राक्षसको रुपमा चित्रण गरे । १८३५ मा फ्रान्सको कानुनले ब्यक्ति केन्द्रित प्रहारलाई प्रतिबन्द लगायो । त्यसपछिका दिनमा कार्टुनिष्टहरु ब्यक्ति भन्दा पनि प्रवृत्तिका विरुद्ध खनिए । डउमियरको कार्टुन पात्र राटापोइललाई प्रवृत्ति विरुद्ध केन्द्रीत कार्टुनको उदाहरण मान्न सकिन्छ ।
सन् १८४१ मा बेलायतबाट प्रकाशित भएको पञ्च पत्रिकाले कार्टुनलाई औधी गुन लगायो । जोन लिचले बनाएका ब्यङ्ग्यचित्रले पञ्चमा महत्व पाए ।
कार्टुन र क्यारिकेचरका दृष्टिले सन् १८५० पछिका वर्षहरु निक्कै फलिफापपूर्ण रहे । कार्टुनलाई अखवारका पाठकहरुको नियमित खुराक बनाउने श्रेय अमेरिकाको पेनी प्रेसलाई र येलो किड अर्थात पहेंलो बच्चालाई जान्छ । अतिरञ्जित पत्रकारिता अर्थात पीत पत्रकारिताको जननी यही पहेंलो बच्चालाई मानिन्छ ।
१९ औं सताब्दीको अन्त्यतिर फ्रान्समा प्रकाशित लि रिरे (le rire), जर्नल अमसान्ट जस्ता हास्य पत्रिका प्रकाशित भए, जसले कार्टुन विधालाई थप गति दिए । लि रिरेको अर्थ हाँसो हो ।
१९ औं शताब्दीको अन्त्यमा फोटोग्राफीको आविष्कारले हास्य र ब्यङ्ग्यकला मा नयाँ आयाम ल्यायो । चित्रलाई अर्थाउन प्रयोग हुँने शब्दको प्रयोग कम कम हुँदै गयो ।
कार्टुनमा हाँसो मात्रै होइन आँशु पनि हुन्छ । ब्यङ्ग्य मात्र होइन विचार पनि हुन्छ । कार्टुन अघिपछिको भन्दा अधिक तीखो हुन थाल्यो ।
डच नागरिक लुइस रेम्यकर्स, बिट्रेनका एडमण्ड सुलिभान र अष्ट्रिलियाका विल डाइसनले हृदयविदारक चित्र कोरे । सन् १९१४ मा अलफ्रेड लिटेले कोरेको तपाईको देशले तपाईलाई खोजेको छ क्याप्सनको चित्र त्यति बेला खुबै लोकप्रिय भयो । सन् १९२० पछि त पश्चिमा पत्रिकामा कार्टुन अनिवार्य जस्तै भयो । अमेरिकामा १९२५मा न्यू योर्कर को प्रकाशन हुन थाल्यो । यसले कार्टुनलाई फरक दिशानिर्देश गर्यो । रङ र शैलीमा विविधता आयो । झण्ट हेर्दा असान्दर्भिक र अनौठा लाग्ने तर पहरो फोर्ने खालका कार्टुनको लोकप्रियता विश्वब्यापी भयो ।
दोस्रो विश्वयुद्धसँगै कार्टुनमा विविध आयाम थपिए । युद्धभिरुहरुले कार्टुनको प्रयोग प्रचारबाजी र एक अर्काका विरुद्धमा गरे । न्युजिल्याण्डका ड्याभिड लो ले त कमाल नै गरे । लोले कार्टुन मार्फत नाजी र सोभियत संघ बिच सन् १९३९ मा भएको सहमतिको खोइरो खने ।
जोहनेस गुटनवर्गले १५ औं शताब्दीको मध्यमा पहिलो छापा यन्त्रको आविश्कार गरे यता छापा प्रविधिमा काया पलट नै भएको छ । उच्च प्रविधिको विकास सँगै कार्टुनकलाले पनि छल्याङ् मारेको छ । कार्टुन भिडियोको प्रचलन बढ्दो छ । हिजोआज क्याप्सन अर्थात सहयोगी शब्द विना कै कार्टुन छापिन थालेका छन् । आफैंमा पूर्ण चित्र !
प्रस्तुतिः नारायाण पौडेल, Scoure :Nepalaaj