सुदूरपश्चिममा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा संस्थागत सुत्केरीको संख्या घटेको पाईएको छ । आर्थिक बर्ष २०७१÷७२ मा सुदूरपश्चिममा संस्थागत सुत्केरी हुनेको संख्या ६६ प्रतिशत रहेकोमा गत आर्थिक बर्ष २०७२÷७३ मा ६३ प्रतिशत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिपायल डोटीले जनाएको छ ।
स्वासथ्य मन्त्रालयले दिएको लक्ष्य बढी भएको र गर्भवतीको संख्या कम भएकाले पनि संस्थागत सुत्केरीको संख्या कम भएको देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत बन्दना भट्टले जानकारी दिइन ।
गत आर्थिक बर्षमा सबैभन्दा बढी अछाममा ७४ प्रतिशत संस्थागत सुत्केरीको संख्या रहेको छ भने सबैभन्दा कम कैलालीमा ४२ प्रतिशत मात्रै संस्थागत सुत्केरीको संख्या रहेको छ । सुदूरपश्चिममा पहाडी जिल्लाको तुलनामा तराईका जिल्लाहरुमा संस्थागत सुत्केरीको संख्या कम रहेको पाइएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक बर्षमा बाजुरामा ६८ प्रतिशत, बझाङमा ७० प्रतिशत, डोटीमा ७३ प्रतिशत, कञ्चनपुरमा ५२ प्रतिशत संस्थागत सुत्केरी हुनेको संख्या रहेको छ ।
यस्तै डडेल्धुरामा ६८, बैतडीमा ६६ र दार्चुलामा ५८ प्रतिशत संस्थागत सुत्केरीको संख्या रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए ।
यस्तै नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक जाँच गराउनेको संख्या भने क्षेत्रभरी ५७ प्रतिशत रहेको उनले बताए । संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको संख्या केही बढी भएपनि सुत्केरीपछिको जाँच गराउनेको संख्या सुदुरपश्चिमभरी न्यून रहेको छ ।
सुत्केरी भएको २४ घण्टा, ३ दिन र सातदिनभित्र स्वास्थ्यसंस्थामा जाँच गराउनुपर्ने भएपनि त्यस्तो जाँच गराउनेको संख्या २९ प्रतिशत मात्रै रहेको पाइएको छ ।
सुत्केरी भएपछि न्वारन नहुँदा सम्म बाहिर जानु नपर्ने धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार सुत्केरीको पछिको जाँच गराउनेको संख्या कम हुने मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । यसका साथै स्वास्थ्य संस्था पनि नजिक नहुँदा सुत्केरीपछिको चेकजाँच गराउनेको संख्या कमी हुने गरेको छ ।
Scoure : swasthyakhabar