☰ open Loading... 20 April 2024|  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले मुम्वई विश्वविद्यालयमा पढ्न पाउने
  | ६ कार्तिक २०७३, शनिबार १२:३८

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतमा रहेको मुम्बई विश्वविद्यालय विच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । शैक्षिक गतिविधिहरु सञ्चालनमा ल्याउने उदेश्यले यी दुई विश्वविद्यालयका उपकुलतिहरुले समझदारी पत्रमा हस्तान्तरण गरेका हुन् ।

भारतको मुम्वई विश्वविद्यालय १६० बर्ष पुरानो विश्वविद्यालय हो । यो विद्यालयमा साढे ७ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ७११ वटा क्याम्पसहरू छन् ।

muvsmu

अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा प्रख्यात भारतको मुम्बई विश्वविद्यालयसँग मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन तथा आपसी सहयोग आदानप्रदान गर्ने समझदारी पत्रमा रहेको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार समझदारी पत्रको हस्ताक्षरको साक्षी भारतका पुर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीका प्रमुख राजनीतिक सल्लहाकारसमेत रहेका अब्जरभर रिसर्च फाउन्डेसन, मुम्बईका अध्यक्ष प्रा.डा. सुधीन्द्र कुलकर्नी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल छन् ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा दुई विश्वविद्यालयका उपकुलपतिहरू विच अब्जरभर रिसर्च फाउन्डेसन, मुम्बईको आयोजनामा नेपाल र भारतका सरकारी विश्वविद्यालयहरूको शिखर सम्मेलनको आयोजना गर्ने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘नेपाल–भारत अध्ययन केन्द्रको स्थापना गर्ने आदि लगायतका विषयमा सहमति भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले जानकारी दिए ।

यसैविच मुम्बई स्थित थिंक ट्यांकहरूको सँस्था काउन्सिल अफ ग्लोबल रिलेशन, गेट वे हाउस मुम्बई र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत विच द्विपक्षीय हितमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ सूचना अधिकारी खड्काले जानकारी दिए ।

समझदारी पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र संस्थाको तर्फबाट अध्यक्ष मन्जित कृपालामीले हस्ताक्षर गरका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला, रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल, सचिवालय सदस्य यदु प्रसाद ज्ञवाली, हेड असिस्टेन्ट युद्धमान बस्नेत र उपकुलपतिका स्वकीय सचिव दिलिप भट्टराई भारतमा रहेका विश्वविद्यालयहरू सँग समझदारी पत्रमा हस्ताक्षर गर्न भारत भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।