☰ open Loading... 23 December 2024|  

बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्यो
  | ७ कार्तिक २०७३, आईतवार ०९:०९

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या विगतको तुलनामा बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको निकुञ्जको भनाई छ ।

साउन महिनामा आन्तरिक पर्यटक २ सय ३६ सार्क मुलुकका ९ र अन्य मुलुकका ६५ जना गरी ३ सय ९ जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् ।

bardia10

यसैगरी, भदौ महिनामा आन्तरिक २ सय ५४,सार्क मुलुकका १२ र अन्य मुलुकका १ सय ४८ गरी ४ सय १४ जना पर्यटक निकुञ्ज भित्रिएका थिए ।

निकुञ्ज प्रशासनका अनुसार असोज महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।

असोज महिनामा स्वदेशी पर्यटक ३ सय १९, सार्क मुलुकका ४ र अन्य देशका १ सय ७५ जना पर्यटक बर्दिया निकुञ्जमा आएको निकुुञ्जले जनाएको छ ।

यस वर्ष पछिल्लो तीन महिना साउन, भदौ र असोजमा आन्तरिक पर्यटक ८ सय ९, सार्क र अन्य मुलुकका ४ सय ३ जना गरी जम्मा १ हजार २ सय २१ पर्यटक बर्दिया निकुञ्ज भित्रिएका थिए । अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४ सय ३१, सार्क र अन्य मुलुकका २ सय ७९ जना गरी जम्मा ७ सय १० पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए ।

अघिल्लो वर्ष यसै अवधिको तुलनामा यस वर्ष ५ सय २ जना पर्यटक बढेको निकुञ्जको अभिलेख छ । सेप्टेम्बरदेखि अप्रिल सम्मको अवधि पर्यटकका लागि पिक आवर मानिन्छ ।

सिजनको सुरुवातमै पर्यटक ह्वातै बढेका छन् । विगतका वर्षका तुलनामा आन्तरिक र विदेशी पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको निकुञ्जको भनाइ छ । नाकाबन्दीका बेला पर्यटकको संख्यामा गिरावट आए पनि नाकाबन्दी हटेसँगै पर्यटकको आगमन बढेको छ ।

पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैंडालगायत अन्य जनावरको संख्यामा वृद्धि भएको खबर चर्चामा आएपछि निकुञ्ज घुम्न आउनेको संख्या बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो ।

हिजोआज निकुञ्जमा बाघ र गैंडा सजिलै अवलोकन गर्न सकिने नेचर गाइड राम शाहीले बताए । विगतमा निकुञ्जमा परिसर मात्र घुमेर फर्कने आन्तरिक पर्यटक आजभोलि निकुञ्जमा हात्ती सफारी, जंगल सफारीको समेत मज्जा लिने गरेका छन् । विभिन्न संघ÷संस्था, विद्यालयबाट दिनहुँ जसो निकुञ्ज अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणनाअनुसार ३५ वटा गैंडा, ८५ वटा बाघ लगायत ४ सय ३८ पन्छी प्रजाति, २५ भन्दा बढी घस्रिने र १ सय २१ भन्दा बढी माछाका प्रजाति छन् ।