☰ open Loading... 26 April 2024|  

मेशिन देख्दा दंग
  | १४ कार्तिक २०७३, आईतवार ११:५१

पहिलो पटक आफ्नै खेतमा मेशिनबाटै धान काट्दा चुप्राका किसानहरु दंग भएका छन् । खेताला लगाएर हप्तादिनसम्म खेतमा धान काट्ने गरेका किसानहरु मेशिनले छिनभरमै काट्दा दंग मात्र परेनन् खुसी समेत भए ।

पहाडमा यसरी धान मेशिनबाट काट्न पाईएला भन्ने कहिल्यै नसोचेका बेलपाटा चुप्रका किसान श्याम राना घर आँगनमै मेशिनले धान धमाधम काट्दा खुसी छन् । हेर्दाहेर्दैै खेतमा पाकेको धानबाली मेशिनले काटेर सखाप पारेपछि राना मात्रै होईन् चुप्राका सवै किसानहरु दंग छन् । मेशिनले धान काटेको हेर्न गाँउका अधिकाँश भेला नै भएका थिए ।

वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द सुवेदीले जिल्लामै पहिलो पटक प्रयोगमा ल्याईएको धान काट्ने मेशिनको उद्घाटन समेत गरे । किसानको माग आईरहेकाले वर्षदिनभित्र जिल्लाभर वितरण हुने बताए ।

जिल्ला कृषि विकास कार्यालयले यहाँका किसानहरुका लागि धान काट्ने मेशिन उपलब्ध गराएपछि किसानहरुलाई ब्यवसाय गर्न सहज भएको जनाईएको छ । किसानहरुको मागका आधारमा जिल्ला कृषि विकास कार्यालयले धान काट्ने मेशिन उपलब्ध गराईएको हो । एउटा मेशिनलाई ३५ हजार रुपैँया पर्छ ।

मेशिन किन्दा किसानले २० प्रतिशन र कार्यालयले ८० प्रतिशत रकम खर्च गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भुजले बताए । ‘धान काट्ने मेशिन अरु ठाँउमा पनि माग आएको छ ।’ योजना अधिकृत भुजले भने, यसरी किसानले यान्त्रिक मेशिन प्रयोग गरेमा बाँझो खेत पनि प्रयोगमा आउनेछ । ’

१ दिनमा कम्तमा २५ रोपनी धान काट्ने अनुमान जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पेट्रोलबाट उक्त मेशिनलाई चलाउन सकिनेछ । कम खर्चमा धेरै काम गर्ने भएकाले मेशिनको प्रयोग किसानहरुले धेरै गर्ने जनाईएको छ । जिल्लामा यो वर्ष ८ हजार ३ सय ७ हेक्टर क्षेत्रफलमा धान लगाईएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जसमा २० देखी २५ प्रतिशत उत्पादन बढ्ने अनुमान कृषि कार्यालयले गरेको छ । कृषिमा यान्त्रीकरण भएमा कम लागतमा उत्पादन बढी हुने र किसानको आम्दानी पनि बढ्ने भएकाले पलायन भएका किसानहरु पनि आर्कषित हुने योजना अधिकृत भुजले बताए ।

meshin-ee
चुप्रामा किसानले मेशिनबाट धान काट्दै । 

‘तत्काल जिल्लाको ५ ठाँउमा किसानहरुले मेशिनको माग गरेका छन् ।’ योजना अधिकृत भुजले भने, माग अनुसार जिल्लाका सवै ठाँउमा दिईनेछ ।’