☰ open Loading... 26 April 2024|  

इराकको पूर्वी क्षेत्र सेनाको कब्जामा
  | १९ कार्तिक २०७३, शुक्रबार १८:५९

 इराकी सुरक्षा बलले शुक्रबार मोसुलको पूर्वीभागमा रहेको छ वटा जिल्ला पुनः नियन्त्रणमा लिएको छ ।  इस्लामिस्क स्टेट (आइएस) आतङ्ककारी समूह र सुरक्षाबलबीच भएको भीषण झडपपछि सो जिल्लाहरु नियन्त्रणमा आएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

आतङ्कवाद विरुद्धको राष्ट्रिय सेवा (सीटिएस) का सयौं कमाण्डो र इराकी सेनाको संयुक्त सहभागीतामा मोसुलको पूर्वी क्षेत्रमा शुक्रबार विहानबाट नै कारबाही सुरु भएको थियो ।

पूर्वी मोसुलको आदेन, समाह, कर्कुक्ली अल खाद्रा, अल इखाआ र अल क्युदस् पुनः नियन्त्रणमा लिएको सिटिएस स्रोतका एक अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

सो जिल्लाहरुको प्रमुृख सरकारी कार्यालयहरुमा सेनाले इराकी झण्डा फहराएको बताइएको छ । यस झडपको क्रममा भएको हताहतीको भने विस्तृत विवरण आइसकेको छैन् ।

गत अक्टोवर १७ मा इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल सहर पुनः कब्जाको लागि भीषण सैनिक कारबाही सुरु गरिने जानकारी दिनु भएको थियो । त्यसपछि त्यहाँ सैनिक कारबाही सु्रु भएको हो । मोसुल इराकको दोस्रो ठूलो सहर हो ।

इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए ।